यो वर्षको मनसुन प्रणाली नेपाल प्रवेश गरेको करिब एक साता भइसकेको छ । यही जुन १० (जेठ २८) मा पूर्वी क्षेत्र (कोसी प्रदेश)मा मनसुन भित्रिएको थियो । तर, अझै अरू प्रदेशमा मनसुनको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन प्रणाली विस्तारै फैलिइरहेको छ । तर, अपेक्षा गरिएजसरी नफैलिएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने देखिएको उनले जानकारी दिए । ‘सामान्यतया ६–७ दिनमा देशभर मनसुन फैलिएको हुन्थ्यो,’ उनले भने, ‘तर, यो ट्रेन्ड परिवर्तन भइरहेको छ ।’
गत वर्ष पनि देशभर ढिलो मनसुन फैलिएको उनले उल्लेख गरे । मनसुनी हावाको तौरतरिका नै परिवर्तन भइरहेको उनले बताए । ‘पहिलापहिलाको तुलनामा मनसुन ढिलो फैलिने, रोकिने भइरहेको छ,’ उनले भने । अहिले भित्रिएको मनसुन प्रणाली कमजोर रहेको मौसमविद् अर्यालले जानकारी दिए । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (बादल) कमजोर रहेको उनले बताए ।
उनका अनुसार, बंगालको खाडीबाट दक्षिणपूर्व भएर पर्याप्त जलवाष्पयुक्त हावा (बादल) नेपालसम्म आइपुग्नुपर्ने हुन्छ । तर, त्योभन्दा पूर्वतिर विकसित मौसमी प्रणालीले त्यसलाई यता आउन असर गरिरहेको छ । ‘बंगालको खाडीभन्दा पूर्वतिर न्यून चापीय क्षेत्र बनिरहेको छ, त्यसले जलवाष्पयुक्त हावा उता तानिरहेको छ,’ उनले भने, ‘त्यसले गर्दा मनसुनको प्रवेश कमजोर देखिन्छ ।’
मनसुन देशभर फैलिन ढिलाइ हुनुमा उनले अर्को कारण पनि सुनाए । एकातिर, पूर्वी क्षेत्रबाट मजबुत जलवाष्पयुक्त हावा आएको छैन । अर्कोतिर, आएकै हावालाई पनि पश्चिमी वायुले उतैतिर ठेलिरहेको छ । रोकिरहेको छ । ‘नेपालमा पश्चिमी क्षेत्रमा पश्चिमी हावाको प्रभाव छ, त्यसले मनसुनलाई अगाडि बढ्न दिइरहेको छैन, पूर्वतिर धकेलिरहेको छ,’ उनले भने ।
भारतमा अहिले उच्च चापीय क्षेत्र रहेको उनले बताए । त्यसले पनि केही असर गरेको उनको भनाइ छ । वायुमण्डलको तल्लोदेखि माथिल्लो तहसम्म तीन चार किलोमिटर बाक्लो बादल हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । अहिले एक किलोमिटरजति मात्र बादल भइरहेको उनले जानकारी दिए । त्यसले वर्षा गराउन नसकेको उनले स्पष्ट पारे । देशको पश्चिम भूभागमा अझै केही दिन मनसुन प्रवेश गर्ने सम्भावना नदेखिएको उनले उल्लेख गरे ।
‘ठ्याक्कै त भन्न सकिँदैन, ट्रेन्ड फेरिइरहेको छ,’ उनले भने, ‘तत्काल सम्भावनाचाहिँ देखिँदैन ।’ नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । पूर्वी भूभाग हुँदै भित्रिएर देशभर फैलिँदै पूर्वी भूभागबाटै मनसुन बाहिरिने गर्छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
देशभर वर्षभरि हुने वर्षाको अधिकांश हिस्सा मनसुन सिजनमा हुन्छ । मनसुन, प्रिमनसुन, पोस्ट मनसुन र विन्टरमध्ये वर्षाको अधिकांश हिस्सा मनसुनमा हुने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अवधि (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर)मा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् ।
उनका अनुसार, प्रिमनसुन (मार्च, अप्रिल र मे)मा १२ र पोस्ट मनसुन (अक्टोबर र नोभेम्बर) र विन्टर (डिसेम्बर, जनवरी र फेब्रुअरी)मा ४–४ प्रतिशत वर्षा हुन्छ । विभागका अनुसार, नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।
यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । कोसी प्रदेशको दक्षिणी, मधेस, वाग्मतीको दक्षिणी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।
औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ । एकातिर मनसुन भित्रिएपछि हुने भारी वर्षाका कारण प्राकृतिक प्रकोपहरू निम्तिने गर्छन् । अर्कोतिर कृषिका लागि मनसुनी वर्षा अपरिहार्य पनि छ ।
सामान्य शब्दमा मनसुन भनेको हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ । मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो ।
ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र यहाँ बंगालको खाडीबाट मनसुनी हावा आउने बताइन् । गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुनले प्रवेश गर्ने मौसविद् कँडेलले बताइन् ।
हिन्द महासागरको पानी वाष्पिकरण भएर अथवा वाफ बनेर हावामा मिसिन्छ । यसरी वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ वहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ । हिउँदे मनसुन नेपालमा खासै हुँदैन ।मौसमविद् कँडेलले भनिन्, “हिउँदे मनसुन भनेर नेपालको हकमा भन्दैनौं । दक्षिणी भारत र श्रीलंका आसपासमा हिउँदे मनसुन भन्ने चलन छ । हिउँदमा हामीसँग पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव हुन्छ ।”
मनसुन भन्ने बित्तिकै धेरै मानिसहरूले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर, यो केवल हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खा समेत गराउन सक्छ । ‘हावा जताबाट जता बहन्छ यसले त्यहाँको भएको कुरा बोक्छ । सुक्खा ठाउँबाट अयो भने सुख्खै हावा ल्याउँछ । जलवाष्प भएको ठाउँबाट त्यो पनि ल्याउँछ र बादल पनि ल्याउँछ,’ मौसमविद् कँडेलले भनिन्, ‘नेपालको हकमा बंगालको खाडीबाट आउने हुँदा त्यहाँ जलवाष्पयुक्त हावा धेरै हुन्छ, मनसुनले त्यहाँबाट बादल पनि ल्याउँछ । त्यसैले बादलबाट पनि पानी पर्छ र जलवाष्पयुक्त हावा यहाँ पुगेर चिसिन्छ र त्यसरी पनि पानी पर्छ ।’
मनसुन अवधिभर यसरी बंगालको खाडीबाट नेपालतर्फ पानी पार्ने र नपार्ने दुवै किसिमको हावा आइरहन्छ । यस्तै न्युन चापीय रेखा जहाँ स¥यो त्यतैतिर मनसुनले वर्षा गराउने पनि उनले बताइन् । हिमालयतर्फ न्यून चापीय रेखा आएर नेपाल र भारततर्फ गयो भने त्यहाँ पानी पर्ने उनको भनाइ छ । त्यसैले मनसुन अवधिभर फरक–फरक ठाउँमा पानी पर्छ । ‘मनुसुन छिर्दा पानी पर्छ भन्ने सोचाइ पनि गलत हो । पानी नपर्न पनि सक्छ,’ उनले भनिन् ।
न्यून चापीय क्षेत्र (लोवर प्रेसर एरिया) भनेको हावाको तह पातलो भएको ठाउँ वा क्षेत्र हो । यस किसिमको हावा पातलो भएको ठाउँतिर बाहिरबाट आएको हावा जान्छ । त्यहाँ त्यो हावाले आफूसँगै ल्याएको वाफ चिसो बनाउँछ, बादल उत्पन्न गर्छ र पानी पार्छ । मनसुनी हावा र न्यून चापीय क्षेत्रबारे मौसमविद् कँडेलले भनिन्, ‘न्युन चापीय क्षेत्र जता छ मनसुनको हावा त्यता जाने हो । जहाँ हावाको प्रेसर ‘एयर प्रेसर’ कम छ त्यहाँ परिपूर्ति गर्नलाई त बाहिरबाट हावा जानु पर्छ ।’ त्यसैले न्यून चापीय क्षेत्र भनेको हावाको तह पातलो भएको क्षेत्र हो । त्यहाँ बाक्लो ठाउँबाट अथवा बाहिरबाट आएको हावा जान्छ । त्यो हावामा जलवाष्प छ भने त्यहाँ पानी पर्छ र सुक्खा हावा छ भने त्यहाँ सुक्खा हुन्छ ।
नेपाल, भारतसहित दक्षिणपूर्वी एसिया गर्मीयामको मनसुनमा निर्भर छ । खासगरी यहाँ कृषिका लागि मनसुन आवश्यक छ । कयौं ठाउँहरूमा सिँचाईको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ । मनसुन अवधिको वर्षाले कयौँ क्षेत्रमा वर्षभरीका लागि कृषि क्षेत्रको पानीको आवश्यकता पूर्तिसमेत गर्छ । विशेषगरी धान र चिया खेती, जम्मा गरेर राखेको पानीबाट उत्पादन हुने बिजुलीलगायतमा मनसुनी वर्षा आवश्यक छ । मनसुन कमजोर र ढिला भित्रिँदा यी क्षेत्रको कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं