सूचनाको शक्ति - The Power Of Information

        

विश्वकपमा नेदरल्याण्ड्ससँग नेपाल पराजित (तस्वीरसहित)

फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छुटाउँदा स्तब्ध । नेपाल स्तब्ध भएको विश्वकपको खेलमा फ्यानको साथ ।

टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई. ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए । त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे ।

करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १–१ विकेट लिए ।

१३ औं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई.लाई रनआउट गरेका थिए । नेदरल्यान्ड्ससँग पराजित भए पनि मैदानमा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्ने फ्यानले संसारको ध्यान खिँचेको छ ।

नेपालको हरेक बलमा फ्यानको हुटिङले संसारका क्रिकेट समर्थक र मिडियाको ध्यान तानेको हो । अमेरिकाको टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपाली मैदानमै पुगेका थिए ।

विश्वकपको मैदान पुगेका नेपाली फ्यान । तस्वीरहरु : नेपाल क्रिकेट संघ

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०७:४८

लोकप्रिय