बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम रोकिएको छैन । राप्तीसोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
दुई स्काभेटर, नौ टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिइ रु एक लाख पाँच हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन र चोरी निकासी भएको सूचनाका आधारमा प्रहरी परिचालन हुने गरेको उनको भनाइ छ ।
राप्तीसोनारीका वडा नं २, ४, ५, ६ र ९ मा पर्ने विभिन्न घाटबाट अवैधरुपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन । अनुगमन टोली देख्नासाथ तस्करीमा संलग्नले भागभाग गर्ने गरे पनि केही समयपछि उत्खनन जारी राख्ने गरेको पाइएको जिल्ला समन्वय समितिका सदस्य सन्तकुमार थारुले बताए ।
क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेका छन् । नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धीको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार ९०० मा ठेक्का सम्झौता गरेको छ ।
‘उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौता अनुसारको सीमा क्षेत्रभन्दा बाहिर नजान चेतावनी दिँदै आएका छौँ, गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौं,’ राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’
नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एण्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ठ ठेक्का सम्झौता गरेको उनले जानकारी दिए । राप्तीसोनारीका वडा नं २, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके