सूचनाको शक्ति - The Power Of Information

        

खेलकूद

नेपालमा कुस्ती : चुनौतीबीच संस्कृतिको संरक्षण

प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको कुस्तीको महत्वबारे पुराण, महाभारत र रामायण लगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।

‘कुस्ती’को जन्म छ, तर व्यवस्थापन छैन, पहलवान जोगेन्द्र यादव भन्छन्, ‘परम्परागत रूपमा जरा गाडेको यो खेलले आफ्नो एतिहासिक तथा सांस्कृतिक महत्वलाई खतरामा पार्ने चुनौतीसँग जुधिरहेको छ ।’ सम्मरीमाई–४ रुपन्देहीका पहलवान रामचन्द्र यादवले दशकअघिका अखडा देखिन छाडेको बताउँछन् । उनी भन्छन्, ‘आजका युवामा खेलको सौख छ, तर सरोकारवालासँग संरक्षणको चाहना छैन ।’

पहलवान घनश्याम मिश्रले कुस्तीको जीवन्त विगत सम्झँदै सार्वजनिक चासोमा आएको ह्रासप्रति दुःख व्यक्त गरे । उनले भने, ‘कुस्तीको सारअनुसार संस्कृतिको ह्रास रोकिनुपर्छ ।’ मिश्रका अनुसार यसले स्वास्थ्य, शक्ति र स्फूर्तिलाई बढावा दिन्छ, आत्मनियन्त्रण र व्यक्तित्व विकासमा लाभ पुर्याउँछ । कुस्ती एक अनुशासनको खेल हो । यो मानिस–मानिसबीचमा लडाइँको कला हो ।

कुस्ती प्रतियोगिता गोलाकार खाडलमा हुन्छन्, प्रायः माटोले भरिएको हुन्छ, जसलाई ‘अखडा’ भनिन्छ । ‘अखडाले खेलाडीका लागि प्राकृतिक सतह मात्र प्रदान गर्दैन, यसले माटो र खेलको सम्बन्धलाई प्रतीकात्मक महत्व राख्छ’, पहलवान राम किसुन यादवले भने, ‘यसले आध्यात्मिक र दार्शनिक आयामसँग शारीरिक पराक्रमको मिश्रण गर्दछ ।’ कुस्ती खेलाडीलाई पहलवान र यसका प्रशिक्षकलाई ‘उस्ताद’ भनिन्छ ।

उस्तादले आफ्ना प्रशिक्षार्थी पहलवानलाई निर्देश गर्दछन् । यो प्रतियोगितामा समानस्तरका खेलाडीबीच निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै, पहलवानलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ । अखडामा देखिने यो अभ्यासले खेलकुदमा नयाँ रणनीति, निष्पक्षताको तत्व थप्नुका साथै अनुशासन र आचारसंहिता पालनालाई समेट्छ ।

‘कुस्तीले खेलाडीमा शारीरिक र मानसिक सहनशीलताको माग गर्दछ । असाधारण सहनशक्ति भएका व्यक्तिलाई आकार दिन्छ । शारीरिक बलको खेती गर्छ । यसको सहभागीको समग्र फिटनेसमा योगदान पुर्याउँछ’, मायादेवी गाउँपालिका रुपन्देहीका पहलवान नजाबुद्दीन मुसलमान भन्छन्, ‘आफ्नै समृद्ध इतिहास र विविध रूप भएको कुस्ती, खेलको कला, शारीरिक र मानसिक विकास खोज्ने व्यक्तिका लागि प्रेरणाको स्रोत हो ।’

दक्षिण एसियाली राष्ट्रमा कुस्तीको अभ्यास बढी छ । यो खेल प्रायः नेपाल, भारत, श्रीलङ्का, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान लगायतका राष्ट्रहरूमा बढी खेलिन्छ । कुस्तीले ती क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ, जहाँ युद्ध र वीरताको महत्व बढी हुन्छ । प्राचीन सभ्यतादेखि खेलिँदै लोकप्रियता प्राप्त गरेको यसको महत्वबारे पुराण, महाभारत र रामायण लगायतका धार्मिक तथा, साहित्यिक ग्रन्थमा पनि उल्लेख छ ।

अनादिकालमा मानव विकाससँगै कुस्ती खेलको विकास भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त पहलवान केशव दासको बुझाइ छ । यो खेल देशको प्रतिष्ठासँग जोडिएको र मानिसको स्वास्थ्यसँग गाँसिएको विषय भएको उनको भनाइ छ । उनले भने, ‘युद्ध र वीरताको प्रयाय नेपालमा परम्परागत र सांस्कृतिक रूपमा मूल्यवान कुस्ती यहाँको गौरवपूर्ण साझा संस्कृति, आपसी सद्भाव, रणनीतिक सङ्घर्ष र राष्ट्रिय एकताको प्रतीक हो ।’

नवलपरासी घर भएका केशव दासले शारीरिक स्वास्थ्य, आत्माको निपुणता र सामाजिक तथा सांस्कृतिक मूल्यमा योगदानका लागि कुस्तीको वकालत गर्नुहुन्छ । यसको व्यवस्थापन र जनचेतनाको भूमिकामा जोड दिँदै निर्णायक भूमिका खेल्नका लागि सरकारलाई उनको आग्रह छ । उनले कालाजंग, धोबी पछाड, मच्छीगोता, साडीतोड, निकाल, टांगी, बगलडुव र गदालेट दांवलाई कुस्तीको प्रमुख कला बताउँछन् ।

कुस्तीलाई दयानन्द सरस्वती, स्वामी विवेकानन्द र अन्य योगीले शारीरिक स्वास्थ्य, आत्माको प्रभुत्व र सामाजिक तथा सांस्कृतिक मूल्यको एक हिस्सा भनेर व्याख्या गरेका छन् । कुस्तीको शाब्दिक विवरण पुरातात्विक तथा पौराणिक शास्त्र, खासगरी ग्रिक तथा संस्कृत महाकाव्यबाट सुरु हुन्छ । रामायणमा रावण–सुग्रीव, महाभारतमा भीमसेन–जरासन्ध तथा विभिन्न बलशाली पहलवानबीचको मुठभेडको वर्णन गरिएको छ ।

कोटहीमाई ३, रुपन्देही घर भई लुम्बिनी प्रदेश ‘मुख्यमन्त्री स्वयम्सेवक कार्यक्रम’ का कुस्ती प्रशिक्षक राजेन्द्र यादवले परम्परागत खेलको पुनःरुत्थानका लागि साझा प्रयासको आवश्यकतामा जोड दिए । ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ का विजेता, यादवले नेपालमा कुस्तीको प्रतीक मानिने सांस्कृतिक र राष्ट्रिय एकताको संरक्षणको महत्वलाई जोड दिँदै हाल १२ जना खेलाडीलाई आफ्नै गाउँ पर्सियामा प्रशिक्षण दिइरहेका छन् ।

पहलवान तथा प्रशिक्षक यादव भन्छन्, ‘मानवको शक्ति प्रदर्शन गर्ने कुस्तीको खेल एक युगमा सुरु भएको हो, जब मानिसलाई हतियारको प्रयोगबारे थाहा थिएन । त्यस समयमा, यस प्रकारको युद्धमा क्रूर बल हावी थियो ।’ उनका अनुसार, पशुलगायतका अन्य शक्तिलाई जित्न त्यस समयमा मानिसले विभिन्न प्रकारका युक्तिहरू प्रयोग गर्न सिकेको हुनुपर्छ र त्यसैबाट ‘कुस्ती’ वा ‘मल्लयुद्ध’ खेलको विकास भएको हो ।

बहरल्ली, भितरल्ली, तुतवा, इरानी, मुल्तानी, भालुकस, बांगुडु, चपरास, अन्टी, सखी, रामवाण, एकहरीपट, दोहरीपट, सन् दुई हजार, खेमे, भरन्दाज, रुम, गुड, महाउती, साल्तो, बैगसाल्तो गुठ्ठी, दाउँपेचबारे बताउनुहुँदै प्रशिक्षक यादवले छिडकी, तेजाब छिडकी, अकलकाटे पहाण र जुडो पहाण दाँव नेपालमा प्रचलित रहेको जानकारी दिए । यादवले नेपालमा कम्तीमा एक जिल्ला एक सुविधा सम्पन्न प्रशिक्षण केन्द्र हुनुपर्ने बताए ।

उनले भने, ‘नेपालमा कुस्तीका लागि सरकारले खासै पहल गरेको नदेखिए पनि युवामा कुस्तीप्रतिको रुचि बढाउन धेरैपटक कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यसका लागि प्रशिक्षण केन्द्रहरू पनि छन्, जसले खेलाडीलाई विशेषज्ञता र प्रविधिमा तालिम दिने काम गरिन्छ ।’ यादवका अनुसार विसं २०२८ पुुस १४ देखि २०५७ सम्म बर्सेनि सिद्धार्थनगर नगरपालिकाले ‘सिद्धार्थ भीम पुरस्कार’को आयोजना गर्ने गर्दथ्यो ।

तत्कालीन राजा वीरेन्द्रको जन्म दिवस पुस १४ का अवसरमा आयोजना हुने राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपाल र भारतलगायत देशका खेलाडीको सहभागिता हुने गर्दथ्यो । पुरस्कारका लागि पहलवानले लगातार तीन वर्ष दंगलमा प्रथम स्थान ल्याउनैपर्ने नियम थियो । पहलवान राजेन्द्र यादवले २०५५, २०५६ र २०५७ मा लगातार प्रथम स्थान ल्याई ‘सिद्धार्थ भीम पुरस्कार २०५७’ प्राप्त गरेका थियो । राजेन्द्रले पुरस्कार पाउनु पहिले उनका उस्ताद प्रहलाद यादव २०५२, ०५३ र ०५४ मा लगातार विजयी भएका थिए ।

स्रोत : रासस
प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १६:३१