सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं नजिकै भेटियो डाँफे जोडी (तस्वरि कथासहित)

तस्वीरहरु : निरज भुषाल । राइज मिडिया

काठमाडौंबाट करिब ११० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्वीर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडामा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।

लामोसाँघु–जिरी सडक खण्डमा रहेको खरिढुङ्गा बजारबाट ६ किलोमिटरको दूरीमा छ, दोलखाको डाँङडुँगे डाँडा । समुन्द्री सतहबाट करिब ३२ सय मिटर उचाइमा रहेको यो क्षेत्रमा डाँफे पाइने जानकारीमा भए पनि तस्वीर भने पहिलो पटक खिचिएको भीमेश्वर नगरपालिका–९ का वडा अध्यक्ष हिमाल श्रेष्ठ बताउँछन् । डकुमेन्ट्री प्रोडक्सनमा सक्रिय राइज मिडियाको टोलीले सो क्षेत्रमा भाले र पोथी डाँफेको तस्वीर पहिलो पटक खिचेको हो ।

सोही वडाका स्थानीयबासी जीतबहादुर श्रेष्ठले यस भेगमा डाँफे, मुनाल लगायतका चराहरू पाइने सुनाए । राजधानीबाट अत्यन्तै नजिकको दूरीमा उच्च हिमाली भेगमा पाइने डाँफे, मुनाल लगायतका चरा हेर्न पाइने भए पनि जानकारीको अभावले यहाँ चरा पारखी वर्ड फोटोग्राफरहरूको ध्यान पुग्न नसकेको बताए । जीतबहादुर चलचित्र विकास बोर्डका बोर्ड सदस्य पनि हुन् ।

यसै ठाउँमा पर्ने १५ सय रोपनी जग्गा र आसपासको क्षेत्रलाई चलचित्र विकास बोर्डले फिल्म सिटी बनाउँदैछ । यहाँबाट आँखैअगाडि गौरीशङ्कर, गणेशसहित आधा दर्जन हिमालहरू र एकै थलोमा अनेक थरीका गुराँस देख्न सकिन्छ । घाँसले ढाकिएका अत्यन्त भिरालो चट्टानयुक्त भीर र सो नजिकको जङ्गलमा बस्न रुचाउँछ–डाँफे । लजालु स्वभावको यो चरा हिमपातका बखत होचो भूभाग तथा लालीगुराँसको जङ्गलमा झर्दछ । डाँफे पाकिस्तान, भारत, नेपाल, भुटान चीन र वर्माको रैथाने चरा हो ।

नेपालमा यो चरा ३३०० मिटरदेखि ४७५० मिटरसम्मको उचाइमा र हिउँदमा २५०० मिटरसम्म झर्छ । हिमाली संरक्षित क्षेत्रहरू (मकालु वरुण, सगरमाथा, लाङटाङ, शे–फोक्सुण्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्जहरू, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण तथा अपिनाम्पा संरक्षण क्षेत्रहरू)मा यो चरा देखिने गरेको छ । नेपालमा यसको सङ्ख्या ३५०० देखि ५००० सम्म अनुमान गरिएको छ । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यस चरालाई संरक्षित पन्छीको सूचीकृत गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १३:४६