सूचनाको शक्ति - The Power Of Information

        

पुस्तक समीक्षा

मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश

राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् ।

राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज÷ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि इतिहास लेखन तथा अध्ययन अध्यापनका दौरान ती दुईलाई बाबुछोरीकै रूपमा मानिन्छ र दुवै नेपालका राष्ट्रिय विभूतिमा पनि दरिएका छन् ।

‘भृकुटी’ हाम्रा काव्य, निबन्ध, नाटक आदिमा आइरहने नाम हो । ‘भृकुटी’ आख्यानमा कम आएकी छन् जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गरेका छन् । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् ।

नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्धधर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास, धर्मसंस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधै स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ ।

इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ जसबाट पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने विरोधप्रति पनि सचेत थिए ।

त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए । दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङ चङ गम्पोसँग विवाह गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भव लगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो ।

बौद्ध धर्मसंस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ ,कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति पनि तिब्बत लगेकी थिइन् । यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवद्र्धनमा सहयोग गरेको थियो । उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा टर्यो र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो ।

आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् । राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ ।

साङ्ग्रिला मिडिया ग्रुप प्रालि (साङ्ग्रिला बुक्स) द्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरुको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् । यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ ।

‘भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कञ्जुस्याइँ गर्नु हो । त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ,’ उपन्यासकारले ‘मेरा कुरा’मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् ।

कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोजेका छन् । ‘विद्वान्हरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो,’ भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा पनि ग्रहणयोग्य छ ।

सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याएका छन् । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बद्र्धनमा केही काम लाग्दैन ।

कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती छ भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’को पनि अर्थ भेटिन्न । तथापि एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ ।

स्रोत : रासस
प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार १६:५८