सूचनाको शक्ति - The Power Of Information

        

धुलाम्य सडक तत्काल व्यवस्थित गर्न आग्रह

बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने सडक धुलाम्य र कष्टकर बनेको भन्दै सडकलाई तत्काल व्यवस्थित गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ । तत्काल समस्याको समाधान नभए चक्का जाम गरेर आन्दोलन समेत गरिने बताइएको छ ।

राप्तीसोनारी गाउँपालिका ६ का अध्यक्ष लवराज खरेलले राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४, ५, ६ र ७ का नागरिक र सिङ्गो नरैनापुर गाउँपालिकाका नागरिकहरु सदरमुकाम नेपालगन्जसम्म आवतजावत गर्दा राप्ती नदीस्थित सडक खण्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र उक्त सडकमा यात्रा गर्दा धुलाम्य र कष्टदायी बन्नुपरेको भन्दै सम्बन्धित सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइएको बताउनुभयो ।

अध्यक्ष खरेलले राप्ती नदीको पूर्व भागमा निर्माणाधिन अवस्थामा रहेको राप्ती नदी पुल निर्माण कम्पनीले चलन चल्तीमा रहेको बाटो पुल निर्माण सहजताका लागि बन्द गरी बैकल्पिक सडकमार्फत् डाइभर्सन गरेर सञ्चालन गराएको बताउनुभयो ।

उहाँले डाइभर्सन गरिएको सडकमा यातायात सञ्चालन गर्दा धुलाम्य हुने गरेको, वातावरणसमेत प्रदूषण भइरहेको, मानव स्वास्थ्यमा गम्भीर असर पुगीरहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीसँग बारम्बार सो सडक क्षेत्रमा ग्राबेल गर्न र समय समयमा पानी छर्केर धुलाम्य हुन र कष्टदायी यात्रा हुनबाट जोगाउनका लागि आग्रह गरेपनि सुनुवाई नभएको जानकारी दिनुभयो ।

डाइभर्सन गरिएको सो सडकमा यात्रुहरु पैदल हिँड्नसमेत नमिल्ने भएको वडाअध्यक्ष खरेलले बताउनुभयो । उक्त क्षेत्रमा साना सवारी साधनलाई समेत ओहोरदोहोर गर्न समस्या हुने र कतिपय सवारी साधनहरु बिचमै बिग्रने गरेको पनि बताउनुभयो ।

“सम्बन्धित सरोकारवाला पक्षलाई बारम्बार उक्त सडकमा पानी हाल्न र ग्राबेल गरी धुलो उड्नबाट जोगाउन अनुरोध गरेका छौं, सो सडक प्रयोग गर्ने यात्रु र सवारी साधनलाई सहजरुपमा ओहोरदोहोर गर्ने वातावरण मिलाइदिनका लागि धेरै पटक अनुनय विनय पनि ग¥यौं तर सुनुवाई भएन,” अध्यक्ष खरेलले भन्नुभयो, “तत्काल समस्याको समाधानका लागि ध्यानाकर्षण गराएका छौं, यदी समस्या समाधान भएन भने स्थानीयले चक्का जाम गरेर आन्दोलन नै गर्नुप¥यो भनेका छन्, हामी स्थानीय वासीन्दाको साथ दिन्छौं ।”

पुल निर्माण कम्पनीका ईन्जिनियर राजेश पटेलले वडा अध्यक्षसँग समस्या समाधानका लागि कुराकानी तथा सरसल्लाह भइरहेको बताउनुभयो । उहाँले धुलो उड्नबाट जोगाउन र उक्त सडकलाई ग्राबेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि यथाशिघ्र काम थालिने बताउनुभयो ।

“सो सडकबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौंको संख्यामा ओहोरदोहोर गर्छन, एउटा मात्र नभएर ४–५ वटा बाटो बनाएर आफूखुसी हिँड्छन्, धुलो उडिरहेको छ, हामीलाई पनि त्यहाँ बसेर काम गर्न समस्या भइरहेको छ, हामीलाई त्यहाँको समस्याको बारेमा पूर्ण जानकारी छ,” ई. पटेलले भन्नुभयो, “उक्त सडकमा पानी हाल्ने र ग्राबेल गरी समस्यालाई न्यूनीकरण गर्नेगरी यथाशक्य छिटो काम सुरु गर्छौं, आम नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौं ।”

राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधिन सो पुलको निर्माणका लागि लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी काम अगाडी बढाएको हो । ७ सय मिटर लम्बाई रहेको उक्त पुल निर्माण गर्न कम्पनीले भ्याटसहित १ अर्व १८ करोडमा ठेक्का सम्झौता गरेको ईन्जिनियर पटेलले जानकारी दिनुभयो । ५३ महिनामा पुल निर्माण गरिसक्ने गरी गत माघ महिनामा ठेक्का सम्झौता भएको उहाँले बताउनुभयो ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने राप्ती नदीस्थित सो सडक खण्डमार्फत् राप्तीसोनारीका केही वडा तथा नरैनापुर गाउँपालिकाका बासिन्दाले ओहोरदोहोर गर्ने गर्दछन् । सो सडकमा राप्ती नदीको पूर्वभागमा सञ्चालन गरिएका क्रसर उद्योगहरुबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौंको संख्यामा ओहोरदोहोर गर्ने गर्दछन् । साथै पछिल्लो समयमा नेपालगन्जबाट अगैया जाने सवारीसाधनहरुले पनि सोही सडक रोज्ने गरेका छन् । सडकको उक्त खण्डमा ओहोरदोहोर गर्ने यात्रु तथा सवारी साधनहरुले दैनिक रुपमा सास्ती खेप्ने गरेका छन् ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १३:३८

लोकप्रिय