सूचनाको शक्ति - The Power Of Information

        

गर्मी छल्न र्‍याफ्टिङ (तस्वीर कथा)

गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटेलाई रिफ्रेसमेन्टको गन्तव्यका रुपमा हेरिन्छ । काठमाडौंको व्यस्त जीवन र थकान मेट्न यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको आकर्षण बढ्दै गएको छ ।

पछिल्लो समय यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । र्‍याफ्टिङ सिजन (फागुन र चैत्र) मा दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटक सुकुटे पुग्ने गर्छन् । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् ।

जसमा र्‍याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड जस्ता नाम चलेका होटल छन् । यहाँ भएका विभिन्न रिसोर्टले साहसिक गतिविधिसहित विभिन्न सुविधा दिइरहेका छन् ।

सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा रमाइलो गर्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।

 

स्रोत : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०९:१०