सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड सरकारका तीन विवादित मन्त्री, कसलाई के अभियोग ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनमा आबद्ध चार दललाई समेटेर बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीबाट २० सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

८ बुँदे सहमति गर्दा नयाँ गठबन्धनमा सामेल भएको दल जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी भएको छैन । जसपाले सरकारमा जाने–नजाने वा समर्थन गर्ने नगर्नेबारे ठोस निर्णय गर्न सकेको छैन । यद्यपि, दाहालले जसपाबाहेक नै गठबन्धनमा बहुमत जुट्ने भएपछि उसलाई छोडेर बुधबार मन्त्रिपरिषद विस्तार गरे ।

जसमा एमालेबाट ८, माओवादीबाट ५, रास्वपाबाट ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् । उनीहरु सबैले बुधबार शीतल निवासमा आयोजित समारोहमा शपथ खाएलगत्तै सिंहदरबारस्थित आआफ्नो कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । विस्तारित मन्त्रिपरिषदमा नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा आठ मन्त्री सरकारमा पठाएको छ ।

महासेठ उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्री बनेका छन् । यसैगरी, नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउँदै पाँच जनालाई सरकारमा पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्री बनाउँदै चार जनालाई सरकारमा पठाएको छ ।

नयाँ गठबन्धनमा जाने–नजाने वा कांग्रेससहितको पुरानो गठबन्धनलाई सहयोग गर्ने विषयमा ‘ढुलमुले चरित्र’ देखाउँदै आएको नेकपा एकीकृत समाजवादी अन्ततः सरकारमा गएको छ । उसले दुई जनालाई प्रचण्ड सरकारमा पठाएको छ । प्रचण्ड सरकारमा तीन नयाँ अनुहारले स्थान पाएको छ । नेकपा एमालेबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारी, रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी सुमना श्रेष्ठ र त्यही पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठ नयाँ अनुहार हुन् ।

यी बाहेक प्रचण्ड क्याविनेटमा सपथ खाएका अरू सबै पुरानै अनुहार हुन् । तर कतिपयले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट (स्वार्थ बाझिने) मन्त्रालय रोजेको भन्दै उनीहरुको आलोचना भइरहेको छ । मुख्यतः यो मन्त्रीमण्डलमा रहेका तीन जना विवादास्पद छविका मन्त्री मानिन्छन् । रास्वपाबाट गृहमन्त्री लामिछाने, श्रम मन्त्री डोलप्रसाद शर्मा र एमालेबाट भौतिक योजना मन्त्री महासेठ विवादास्पद पृष्ठभूमिका कारण आलोचनाको केन्द्रमा छन् ।

को-को हुन् आलोचित मन्त्रीहरु ?

रवि लामिछाने

लामिछाने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा यसअघि केही समय गृहमन्त्री बनेकै व्यक्ति हुन् । तर, नागरिकता प्रकरणका कारण उनी बर्खास्तीमा परे । उनको सांसद पद नै रहेन । कानुनी रूपमा नयाँ नागरिकता लिइकन उनी उपचुनावमा फेरि होमिए । चुनाव जितेर फेरि सांसद बने ।

यद्यपि, चुनाव जितेर सांसद बने पनि लामिछाने विभिन्न प्रकरणमा जोडिरहेका व्यक्ति हुन् । उनले पुरानो नागरिकताका आधारमा लिएको राहदानी दुरुपयोगको अनुसन्धान बाँकी नै छ । राहदानी प्रकरण किनारा नलाग्दै उनी सहकारी ठगी प्रकरणमा जोडिए । देशभरिका आधा दर्जन सहकारी ठगी गरेर फरार गितेन्द्रबाबु राई (जिबी)को व्यापारिक साझेदारको रूपमा लामिछाने देखिन्छन् ।

राईले ग्यालेक्सी फोरके टेलिभिजन खोल्दा लामिछाने उनका पार्टनर थिए । अब लामिछाने स्वार्थ जोडिएको मन्त्रालयमा पुगेपछि उक्त प्रकरणले कुन मोड लिन्छ भन्ने प्रश्न सोझिएको छ । लामिछाने शक्तिमा आउनेवित्तिकै उनी जोडिएको मुद्दा स्वतः ओझेलमा पर्ने सम्भावना छ ।

डोलप्रसाद अर्याल

प्रचण्ड सरकारमा अर्का विवादास्पद मन्त्री हुन् डोलप्रसाद अर्याल । उनी यसअघि पनि सोही मन्त्रालयमा गएका थिए । उनलाई ‘म्यान पावर’ व्यवसायी भनिन्छ । विगतमा श्रम र रेमिट्यान्स सम्बन्धी कारोबारमा संलग्न रहेका उनलाई वैदेशिक रोजगार कम्पनी सृष्टी ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको लगानीकर्ता भएको आरोप छ ।

उनी सो कम्पनीको अन्तर्राष्ट्रिय मार्केटिङ निर्देशक र इजिलिंक नामको रेमिट्यान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भएका व्यक्ति हुन् । त्यसकारण, अर्याल विवादित छविका मानिन्छन् । उनले पुनः श्रम तथा रोजगार मन्त्रालय पाउँदा ‘स्वार्थको द्वन्द्व’ जोडेर हेरिएको छ ।

रघुविर महासेठ

यस्तै विवादित छविका अर्का मन्त्री महासेठ यसअघि विभिन्न मन्त्रालयमा काम गरिसकेका र ‘टेष्टेड’ हुन । उनी कमजोर कार्य सम्पादनका कारण आलोचनाको केन्द्र विगतदेखि नै छन् । एमाले अध्यक्ष केपी ओली ‘दाहिना’ भएकै कारण उनले पटक–पटक शक्तिशाली मन्त्रालय पाएको एमालेका नेताहरू नै बताउँछन् ।

उनले रकम नलिइकन कुनै कार्यालयमा इन्जिनियरहरूको पोस्टिङ नगर्ने आरोप लाग्ने गरेको छ । यसबाहेक महासेठ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन घेरामा परिरहेका व्यक्ति हुन् । महासेठले मन्त्री पदमा रहँदा भ्रष्टाचारमार्फत् कालो धन जम्मा गरेको आरोप व्यहोराको उजुरी विभागमा ‘तामेली’मा छ । नयाँ गठबन्धनबाट सरकारमा पुगेका यी तीन मन्त्रीले गर्ने कार्यसम्पादन कस्तो हुन्छ ? हेर्न भने बाँकी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १०:१५

लोकप्रिय