सूचनाको शक्ति - The Power Of Information

        

ब्राजिलकी महिला भारतमा सामुहिक बलात्कारको सिकार (भिडियो कथासहित)

भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झारखण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको छ । यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।

यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा मोटरसाइकलमा वर्ल्ड टुरमा निस्किएकी थिइन् । यस घटनामा फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले लगातार छापा मारिरहेको थियो । यस घटनामा प्रहरीले अहिलेसम्म आठ जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ ।

सामूहिक बलात्कारको घटनापछि चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर ती महिला मोटरसाइकलमै नेपाल आएको बताइएको छ । पीडित र उनको श्रीमान् ट्राभल भ्लगर हुन् । पीडित महिलाका पतिले इन्ष्टाग्राममा स्पेनी भाषामा पोस्ट गरिएको एक भिडियोमा बताएअनुसार उनीहरुले गर्धनमा चक्कु तेर्स्याएर बलात्कार गरेका थिए ।

तर पछि सो भिडियो डिलिट गरिएको थियो । शुक्रवार राति जङ्गलमा क्याम्पिङ गरेर बसेको बेलामा सो घटना भएको थियो । बलात्कारको घटना भएको केही बेरपछि गस्तीमा आएको प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए । यो घटनाको पुष्टि प्रहरी र डाक्टर दुवैले गरेका थिए ।

बलात्कारका घटना न्यूनीकरण गर्न भारत सरकार असफल भइरहेको छ । सन् २०२२ मात्रै त्यहाँ साढे ३१ हजारभन्दा धेरै बलात्कारका घटना भएका थिए । यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले धेरै हो । भारतमा पयर्टकहरु समेत बलात्कारमा पर्न थालेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।

हेर्नुस् भिडियो :

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:३१

लोकप्रिय