सूचनाको शक्ति - The Power Of Information

        

बाली जोगाउन बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा तारजाली

बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए । राप्तीसोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ४७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारुको भनाइ छ ।

बाँकेमा निकुञ्जसँग जोडिएको बैजनाथ गाउँपालिका–१ को चिसापानी, गाभर, कोहलपुर नगरपालिका–१३ को खड्कवार, भरैया र राप्तीसोनारी गाउँपालिका–९ को महादेवा, बुच्चापुर, वालापुर, वडा नं.८ को शम्शेरगन्ज, गोठेरी, बाँदरभरिया र वडा नं.१ को खासकुस्माका गाउँबस्तीमा जङ्गली जनावर प्रवेश गरी अन्न बाली नष्ट गरिदिएपछि सर्वसाधारण चिन्तित छन् ।

५५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्जको कोहलपुरबाट शिवखोलासम्म पूर्व–पश्चिम राजमार्गको दूरी ७२ किलोमिटर रहेको छ । निकुञ्जभित्र पर्ने ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा निकुञ्जले पनि तारजाली निर्माण गर्ने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कुननारायण चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १६:४४

लोकप्रिय