सूचनाको शक्ति - The Power Of Information

        

सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री, स्वकीय सचिव गंगा पनि बाहिरिने सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा हेरफेर गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार सचिवालयका महत्त्वपूर्ण पदहरुमा पुरानालाई हटाएर नयाँ ल्याउने तयारी भइरहेको छ ।

सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्री प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाल लगायत बाहिरिने बताइएको छ । उनीसँगै सुरुदेखि जनसम्पर्क र प्रेस अन्तर्गत रहेका केहीलाई पनि परिवर्तन गर्न खोजिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डकी छोरी नै सचिवालयको नेतृत्वमा भएका कारण प्रधानमन्त्री प्रचण्डसम्म उनका सल्लाहकार र माओवादीका नेता–कार्यकर्ताहरु पुग्न समस्या परेको चर्को गुनासो छ । राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले ‘सल्लाह सुनाउने वातावरण नभएको’ भन्दै राजीनामा दिइसकेका छन् ।

उच्चस्तरीय भ्रमण गर्दा हुने प्रतिनिधिमण्डल स्तरीय बैठकहरूमा प्रधानमन्त्रीका साथै दुवै देशका उच्च सरकारी अधिकारीहरू मात्र सहभागी हुने गर्छन् । तर, त्यस्ता बैठकहरुमा समेत प्रधानमन्त्रीकी छोरी समेत रहेकी स्वकीय सचिव गंगाले सहभागीता जनाउने गरेकी थिइन् । जसको कूटनीतिज्ञहरुले विरोध जनाउने गरेका थिए ।

स्वकीय सचिव दाहालको चर्को आलोचना भइरहेका कारण उनलाई बाहिर राख्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष अपेक्षित उपलब्धि नभएको आफैंले स्वीकारेका छन् । दोस्रो वर्ष उपलब्धिमुलक बनाउन सचिवालयदेखि मन्त्रीमण्डलसम्म हेरफेर गर्ने संकेत एक वर्ष पुगेको उपलक्ष्यमा दिएको वक्तव्यबाट गरेका छन् । उनले त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै गरिने पनि बताएका थिए ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १२:४८

लोकप्रिय