सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्र शाह ‘नाति हृदयेन्द्रलाई उत्तराधिकारी बनाउन तयार’

‘नागरिक अभिनन्दन’ लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन् । पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन् । नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु जाँदैछन् ।

त्यस्तै पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ । यसबीचमा उनले विभिन्न मन्दिरहरूको दर्शन गरिरहेको र गर्ने संयोजक बस्यालले जानकारी दिए ।नेकपा एमालेका स्थानीय नेता बस्याल संयोजक बनेपछि पार्टीबाट निकालिएका छन् । उनी गत स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार थिए ।

‘ज्ञानेन्द्र शाह विकल्प दिन तयार’

पछिल्ला दिनहरूमा सत्ताधारी दलकै प्रमुख नेताहरूले ‘परिवर्तन उल्ट्याउने षड्यन्त्र’ भइरहेको बताउने गरेका छन् । हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति बेला बखत प्रदर्शन हुने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ । कांग्रेसका एक नेताले त चैतसम्ममा संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका छन् ।

संयोजक बस्याल भन्छन्, ‘जसरी यो संविधान आयो, त्यसैगरी जान्छ । हिन्दूराष्ट्र, अभिभावकको रूपमा राजसंस्थाको निम्ति हामी प्रयासमा लागेका छौँ ।’ शासन सत्ता सम्हालिरहेका सबैजसो दलहरू गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताप्रति प्रतिबद्ध देखिन्छन् । त्यसैले राजसंस्था पुनर्स्थापनाको सम्भावना देख्नेहरू निकै कम छन् ।

राजा छँदा ज्ञानेन्द्र शाहको ‘निरङ्कुश कदम’ र त्यसले दिएको अलोकप्रियताका साथै छोरा पारसको छविका कारण पुनर्स्थापनाको सम्भावना झनै नभएको तर्क पनि गरेको सुनिन्छ । तर संयोजक बस्यालले भने, ‘राजसंस्था अभिभावकको रूपमा आउनुपर्यो, ज्ञानेन्द्र शाह नै राजा बन्नुपर्छ भन्ने छैन । उहाँ विकल्प दिन तयार हुनुहुन्छ ।’

ज्ञानेन्द्र शाहले नातिलाई राजा बनाउन मुख खोलिसके ?

कतिपयले २०६३ सालमा आन्दोलन सफल भएपछि ‘बेबी किङ’को चर्चा गर्थे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि त्यो सम्भावना औँल्याएका थिए । त्यसबेला शाहले त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताउने गरिन्छ । बस्यालका भनाइमा पूर्वराजा शाह नातिलाई राजा बनाउन तयार छन् ।

आफूहरूबीच भेटघाट भइरहने बताउने बस्यालसँगकै कुराकानीमा के शाहले त्यसबारे मुखै खोलेका हुन् ? ‘हैन, मुखै खोल्नुपर्दैन नि, आशयले नै बुझिन्छ । बादल लाग्यो भने पानी पर्छ भन्ने आभास हुन्छ,’ संयोजक बस्याल भन्छन्, ‘सबै कुरा खोल्न त कहाँ मिल्छ र ? कतिपय कुराहरू बुझ्नुपर्छ ।’ शाहका छोरा पारस भने राजा बन्ने अवसर आउँदा पनि बन्न नचाहने उनले बताए ।

विकल्पबारे पूर्वराजाको तर्फबाट दलहरूसमक्ष प्रस्ताव पनि गइसकेकोबारे संयोजक बस्याललाई कुनै जानकारी छ ? उनले त्यसबारे दलहरू तयार भएको खण्डमा गोलमेच सम्मेलन वा त्यस्ता कुनै बैठकहरूले निधो गर्ने विषय बन्ने बताए । राजसंस्थाका कतिपय पक्षपातीहरूले यसअघि पनि हृदयेन्द्र शाहलाई राजाको रूपमा अघि सार्न सकिने बताउने गरेको पाइन्छ । तर पूर्वराजा शाह निकटस्थहरूले यसबारे कुनै सङ्केत दिएको पाइँदैन ।

स्रोत : बीबीसी
प्रकाशित मिति : १४ पुष २०८०, शनिबार १६:४६

लोकप्रिय