मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानका क्रममा धनकुटा पुग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भयो । स्वागतको लाइनमा बसेका महेश राईले ओलीमाथि मुक्का प्रहार गरेका थिए । एमाले कार्यकर्ताको लाइनमा उभिएका महेशले अध्यक्ष आलीलाई मुक्का प्रहार गरेको भिडियो क्षणमै भाइरल भयो ।
तर, एमालेले भने मुक्का प्रहार घटनालाई छोप्ने प्रयास गरेको छ । ओलीमाथि आक्रमण भए लगत्तै विज्ञप्ति जारी गर्दै प्रचार विभागका इन्चार्ज राजेन्द्र गौतमले भनेका छन्, ‘अध्यक्षमाथि प्रहार भएको होइन । लाइनमा लामो समय उभिएका कार्यकर्ताले माला लगाइदिने क्रममा अध्यक्षतिर ढल्केका मात्र हुन् ।’
कतिपय कार्यकर्ताले महेश एमालेकै कार्यकर्ता भएको र प्रहरीले नियन्त्रणमा लिएपछि एमाले जिन्दाबाद भन्दै नारा लगाएको समेत भन्न भ्याएका छन् । तर, प्रहरीले नियन्त्रणमा लिने क्रममा महेशले त्यस्तो नारा लगाएको भिडियोमा सुनिएको छैन । सारा एमाले अध्यक्ष ओलीमाथि भौतिक आक्रमण भएको तथ्य लुकाउन लागिपरेका छन् ।
तर, भिडियोमा भने ओलीमाथि आक्रमण भएको स्पष्ट देखिन्छ । एमालेले अध्यक्षमाथि आक्रमण नभएको भने पनि प्रहरीले मुक्का प्रहार गर्ने महेश राईलाई तत्काल नियन्त्रणमा लिएको थियो । ओलीमाथि प्रहार नगरेको भए उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिनुपर्ने त्यस्तो खास कारण केही देखिएको थिएन ।
अध्यक्षमाथि भएको आक्रमण लुकाउन लागिपरेपछि सामाजिक सञ्जालमा एमालेजन हाँसोका पात्र बनेका छन् भने कतिपयले भौतिक आक्रमण जस्तो गैर राजनीतिक घटना लुकाएर एमालेले गल्ती गरिरहेको टिप्पणी गरिरहेका छन् । आक्रमणपछि ओली बास बस्न धनकुटाकै वसन्तपुर पुगे ।
मुक्का प्रहार भएको घटना ओझेलमा पार्न अध्यक्ष ओलीको सचिवालयले ओलीको फेसबुकमा ५ वटा भिडियो पोस्ट गरेका थिए । भिडियोमार्फत ओलीको टिमले प्रदेश १ मा एमालेको अवस्था राम्रो रहेको संकेत देखाउन खोजेका छन् । सामाजिक सञ्जालमा एमालेको उपस्थिति राम्रो छ ।
पछिल्लो समय पार्टीको सबै संरचनाका नेतृत्वलाई पार्टीका पक्षमा अनिवार्य पोस्ट गर्न उर्दी जारी भएको छ । बिहीबार साँझ त्यसैको परिणाम देखियो । सारा एमालेले अध्यक्ष ओलीमा प्रहार नभएको भन्दै हरेक कार्यकर्ताले पोस्ट गरेका छन् ।
पहिचान मुद्दामा केपी ओली अनुदार छन् । बारम्बार पहिचान पक्षधरलाई अनेक नाममा गाली गर्दै आएका छन् । त्यसैले, पहिचान पक्षधरको निसानामा एमाले र अध्यक्ष ओली पर्ने गरेका छन् । एमालेले झुलाघाटदेखि चिवासम्म अभियान गर्ने निर्णय गरेदेखि नै पहिचानवादी यो अभियान आफ्नो क्षेत्रमा विफल बनाउने पक्षमा लागेका थिए ।
त्यसैले प्रदेश १ क्षेत्र प्रवेश गरेसँगै एमालेको अभियानले अवरोध सामना गर्न थालेको थियो । हजारौँ प्रहरीको सुरक्षामा अभियान अघि बढाउने क्रममा पूर्व मन्त्री गोपाल किरातीसँगै धेरै पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, अवरोध भने झनै बढेको छ ।
पहिचानवादी नेतालाई पक्राउ गराउँदै धनकुटासम्म पुग्दा भने एमालेले मानसिक र नैतिक रूपमा ठूलो धक्का महसुस गरेको छ । जहाँ, अध्यक्ष ओलीमाथि प्रहार भयो । एमालेले धक्का महसुस गरिरहेको बेला पहिचानवादी र एमाले विरोधी शक्तिमा भने ठूलो खुसीयाली छाएको छ । धेरैले महेश राई महान् योद्धा भन्दै प्रशंसा गरिरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं