सूचनाको शक्ति - The Power Of Information

        

युवा संघमा विवाद बढ्दै, राजीनामा दिनेको लर्को

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय समिति सदस्य प्रज्वल खड्काले पनि राजीनामा दिएका छन् । उनले विशेष कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । राजीनामामा खड्काले विशेष कामका कारण आजको दिनदेखि राष्ट्रिय युवासंघको कुनै पनि कमिटी तथा पदमा रहन नसक्ने जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘पार्टी र संगठनलाई देश र जनताको हितमा राख्न र विभिन्न चरणका तीन वटै तहका निर्वाचनमा पार्टीलाई जिताउन आफ्नो तर्फबाट सकेसम्मको सहयोग गरेको सर्वविदितै छ । विगतमा संघलाई सहजता तथा असहजता भएको समयमा आफ्नो ज्यानलाई बलिदानी दिनसमेत तयार रहँदै नेतृत्वको निर्देशनलाई शतप्रतिशत पालना गरि संगठनको हित नै आफ्नो हित हो भनि नियमित काममा लागेको थिएँ ।’

उनले पार्टी तथा नेतृत्व विपक्षी चौतर्फी रुपमा घेराबन्दीमा परेको बखत आफूले खुकुरीको धारमा रहेर विपक्षीलाई घुँडा टेकाउने कार्य गरेको उल्लेख गर्दै सो कार्य संगठनको इतिहासमा जगजाहेर रहेको जनाउँदै एकाएक राजीनामा बुझाएका हुन् । यसअघि केन्द्रीय कमिटी बैठकले गरेको कार्य विभाजनमा असन्तुष्टि जनाउँदै सदस्यहरुले राजीनामा दिएका थिए ।

नवौं राष्ट्रिय महाधिवेशनबाट बैतडीको भुगोलअन्तर्गत निर्वाचित केन्द्रीय कमिटी सदस्य लोकेन्द्र भण्डारीले हिजो अध्यक्ष क्षितिज थेबेलाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुँदा संगठनको केन्द्रीय सदस्यमा मनोनित भएर युवासंघको विभिन्न भूमिकामा रहिसकेका उनले कार्य विभाजनप्रति चर्को असन्तुष्टि जनाउँदै संगठन त्यागेका थिए ।

हालको कार्य विभाजन नितान्त पूर्वाग्रही भएको उनको आरोप छ । त्यस्तै, एमालेको निर्वाचन आयोगको उपप्रमुख पदमा कार्यरत तथा युवासंघको विभिन्न कमिटीमा बसेर काम गरिसकेका रामबहादुर छत्कुली (बाबु) ले पनि राजीनामा दिइसकेका छन् । उनले युवासंघको कुनै पनि कमिटी तथा पदमा नरहने घोषणा गर्दै आफ्नो सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जानकारी गराएका छन् ।

राजीनामको लहरले पछिल्लो समय युवासंघ भित्रको विवाद बढ्दो क्रममा रहेको स्वतः पुष्टि हुन्छ । स्रोतले रोशन लामा (गौरव), रामकाजी वान्तवा, ज्ञानु दाहाल, वीरेन्द्र भट्ट, विष्णु पोखरेल, प्रज्वल प्रताप सापकोटा लगायतले पनि संघ छाडेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १२:३४

लोकप्रिय