सूचनाको शक्ति - The Power Of Information

        

कोप-२८ मा भाग लिन आज यूएई जाँदै ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । कोप–२८ को २८औं सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुनेछ । प्रधानमन्त्री प्रचण्ड डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् ।

डिसेम्बर २ मा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको ५२औँ ‘युनियन डे’को अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । उनी यूएईले आयोजना गर्ने जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र अन्य वरिष्ठ अधिकारीहरू पनि जानेछन् । प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०८:३९

लोकप्रिय