२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक !

प्रहरीले दुर्गा प्रसाईंलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ । प्रहरीले काठमाडौं प्रवेशमा रोक लगाउँदै गौशाला आउन कार्यकर्तासहित हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलाको बाटो हुँदै गौशाला आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो । त्यहाँ केहीबेर वादविवाद भएको थियो ।

तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ । गणतन्त्र विरोधी व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गौशाला जाने अनुमति नभएको भन्दै पेप्सीकोलाबाटै फर्काएको छ । प्रहरीका अनुसार प्रसाईँलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।

राष्ट्र, राष्ट्रियतासँगै नागरिक बचाउका लागि भन्दै गरिएको प्रसाईंको प्रदर्शन दिनप्रतिदिन कमजोर भइरहेको छ । प्रसाईं समूहले हिजो गौशालामा गरेको प्रदर्शनमा सामान्य झडप भएको थियो । त्यसैलाई मध्यनजर गर्दै प्रहरीले प्रसाईंमाथि कडा निगरानी गरिरहेको छ ।

यता महाअभियानको कार्यकारिणी सदस्य इशा खड्का भने प्रसाईं औषधि उपचारका लागि अस्पताल जान लाग्दा प्रहरीले अवरोध गरेको आरोप लगाएकी छन् । ‘उहाँ घाँटीमा सामान्य घाउ भएकाले जाँच गर्न अस्पताल जाँदै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, प्रहरीले आन्दोलनमा जान लागेको भन्दै मनोहरा खोलाबाट अघि बढ्नै दिएन त्यसपछि फर्किनुभयो ।’

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार