सूचनाको शक्ति - The Power Of Information

        

कथा

द्वन्द्व देखेका आँखा

दुई अज्ञात युवाले ज्याकेटको गोजीभित्रबाट पेस्तोल निकालेर इन्स्पेक्टरलाई निसानी बनाई ‘माओवाद जिन्दावाद’ भन्दै बजारको दक्षिणतिर दौडिए ।

द्वन्द्व आक्रान्त भएर चर्केको थियो । समय कालो भएर उथलपुथल हुँदै थियो । सबैको अनुहारमा द्वन्द्वको धब्बाले अँधेरो निराश बनाएको थियो । लाग्थ्यो काल अघिपछि गुमिरहेछ जस्तो । भरोसाविहीन समयले सम्पूर्ण नेपाली मर्माहित थिए । बिहानै रेडियो, टेलिभिजन, पत्रपत्रिकामा कहिले कहाँ भिडन्त, कहिले कहाँ भिडन्त भन्ने समाचारले प्रथामिकता पाउँथ्यो । समाचारमा भिडन्तमा मारिएर लासका खात देखिन्थ्यो । द्वन्द्वको मध्यान्त काल थियो ।

बर्दियाको गुलरियामा साँझ पर्नासाथ कफ्र्यू लाग्थ्यो । बेलुका भएपछि गुलरिया सुनसान भइहाल्थ्यो । घरको झ्यालबाट चियाउँदा आर्मी, पुलिसको गस्ती मात्र देखिन्थ्यो । लाग्थ्यो त्यो ठाउँ रातमा फौजीको मात्र साम्राज्य जस्तो । फौजीको बाक्लो गस्तीको बाबजुद पनि रातमा कानको जाली फुट्ने गरी प्रेसर कुकर बम पड्किन्थ्यो । निद्राको पोल्टामै सातो जान्थ्यो । मन मस्तिस्क थरथर काँप्थ्यो । लाग्थ्यो आफ्नै घरभित्र बिस्फोट भए जस्तो ।

कहिले जिल्ला विकास ध्वस्त त कहिले नगरपालिका ध्वस्त । कहिले जिल्ला प्रशासन ध्वस्त । क्रमशः बर्दियाका सरकारी निकाय ध्वस्त हुँदै थिए । जीवन कष्टकर भएर त्रासको भुमरीमा रुमल्लिँदै थियो । एक मुठ्ठी प्राण जोगाउन धौधौ थियो । त्रासै–त्रासले जिउँदै मृत्युवरण भएको झैं कालको सामना गर्नु परिरहेको थियो । रातमा गोली पड्केको आवाज सुन्नासाथ खाटमुनि छिरिन्थ्यो । गुलरिया सदरमुकाममा मानिसको आवतजावत न्यून थियो ।

व्यापार ठप्प थियो । मेरो त्यस बखत बर्दियामा जिल्ला प्रहरी कार्यलाय अगाडि कस्मेटिक पसल थियो । पुलिसको इन्स्पेक्टर पसलमा सामान किन्न आए । इन्स्पेक्टरले बिना सम्बोधन बुट पालिस दिनु न भने । मैले तीन भेराइटीका बुट पालिस देखाएँ । राम्रो खालको बुट पालिस लिए । पसलको काउन्टरभित्र आएर उनले बुट ब्रस हेर्दै थिए । जाडोको समय थियो । बेलुका चार बजेको थियो । क्षितिजपारि सूर्य कोल्टे फेर्दै थिए ।

एकाएक दुई अज्ञात मानिस ज्याकेटको गोजीभित्र दुवै हात राखेर पसलतिर मोडिँदै थिए । इन्स्पेक्टरले निक्कै चनाखो भएर किन्न हेर्दै गरेको समानबाट नजर उठाएर अज्ञात मानिसमा नजर पुर्याए । प्रहरी मनोविज्ञानले अज्ञात व्यक्तिलाई शंकास्पद मान्यो । सरासर ती अज्ञात मानिस तीन मिटरको दूरीमा आइपुगे । इन्स्पेक्टरले ती अज्ञात व्यक्तिलाई सोधे तेरो हातमा के छ देखा ? गोजीभित्रबाट अज्ञात युवा दुवैले पेस्तोल निकालेर इन्स्पेक्टरलाई निसानी बनाए । जस्तै गोली प्रहार भयो । उनी काउन्टर तल भुइँमा लम्पसार भए ।

अज्ञात व्यक्तिले उनलाई गोली लागेर ढलेको सम्झिए । उनी काउन्टर तल लम्पसार पर्दा काउन्टरले उनको स्वरूप छेकियो । अज्ञात व्यक्तिहरूले सम्झिए इन्स्पेक्टर गोली लागेर मर्यो । अकस्मात इन्स्पेक्टरलाई आपूmले कम्मरमा राखेको पेस्तोल निकाल्ने समय पनि भएन । दुकानभित्रै दुवैजनाले असंख्य गोली बर्साए । म मूकदर्शक बनेर कुर्सीमा बसेर हेरिरहेँ । मेरो कानको नजिकबाट गोलीहरू हुइँकिरहे । अचानकको दुर्घटनाले आश्चर्य लाग्यो । मलाई कुनै चलचित्रको दृश्य हेरिरहेको जस्तो लाग्यो ।

दोकानभित्रका सिसाका शोकेसहरू पेस्तोलको गोलीले चकनाचुर भए । सरसामान भुइँमा छरपस्ट भए । अनगिन्ती बर्सेका गोली भाग्यवश मदेखि तर्किए । समय बलवान् भएर मेरो पक्षमा साथ दियो । त्यति ठूलो दुर्घटनाले कुनै मानवीय क्षति भएन । माओवाद जिन्दावाद भन्दै हवाई फाएर गर्दै दुवै अज्ञात व्यक्ति बजारबजार दक्षिणतिर दौडिए । लामो अनुभव र देशविदेशको तालिम पाएर पोख्त भएका इन्स्पेक्टरले आफ्नो ज्यान निक्कै चलाखीपूर्ण तरिकाले जोगाए । उनी उठेर हतारहतार जिल्ला प्रहरी कार्यालयमा पसे ।

एसपी र डिएसपी जिल्ला बाहिर गएकाले सबै प्रहरी प्रशासनको जिम्मा उनै सिनिएर इन्स्पेक्टर माथि थियो । यो सबै घटना आफ्नै पसलमा आफ्नैसामु भएको थियो, तापनि चलचित्र हेरेझैँ भएको थियो । के गर्नुपर्ने हो वा के गर्नु हुँदैन भन्ने मैले केही सोच्न सकिनँ । मैले आफूलाई जिउँदो मान्छे हुँ कि ढुंगाको मूर्ति मात्रै हुँ भन्ने पनि अनुमान गर्न सकिनछु । मेरा हातगोडा जिउज्यान मनबोली केही पनि काम गर्न सक्ने अवस्थामा थिएनन् । म त्यसबेला केवल सास फेरिरहेको एउटा लास जस्तो मात्रै थिएँ ।

बुद्धिविवेक केहीले मलाई साथ दिएको थिएन । यत्रो भयङ्कर घटना मेरा जीवनमा यति नजिकैबाट घटित भएको यही नै थियो । इन्स्पेक्टरले सोचे माओवादीको ठूलै जमात जिल्ला प्रहरी कार्यालय ध्वस्त गरेर हात हतियार कुम्ल्याउन आउँदै छ । इन्स्पेक्टर स्वयम्ले सम्पूर्ण प्रहरीलाई आदेश दिए । सबैले हतियार चलाउने । एकसाथ सम्पूर्ण प्रहरीले हवाई फायर गरे । बेलुका चार बजे नै अन्धधुन्द भयो । एक्कासी आएको आँधिबेहरी जस्तो अन्धकार छायो । बिनाबादल, बिनामेघ अनगिन्ती चट्याङ खसेको जस्तो । मानिसहरू भागाभाग भए ।

फाइरिङको आवाजले कानको जाली फुट्ला जस्तो भयो । सबै बजार बन्द भयो । म पनि दुकान खुल्लै छोडेर नजिकको घरमा लुकेँ । म लुकेको घरको वरिपरि पनि गोली बर्सिँदै थिए । मेरो दुकान पनि प्रहरीले नै सटर बन्द गरिदिएछन् । झिसमिस साँझले अन्धकरलाई बोलायो । जाडोको समय हुस्सु लागेर अझै अन्धकार छाएको थियो । न आकाश देखिन्छ । न परको दृश्य नै । लाग्छ मनमा दोहोरो भिडन्तको संकेत मात्र । घर जाने कुनै चान्स नै थिएन । प्रहरी कार्यालय नजिकको एक झुपडी घरमै मेरो रात ढल्दै थियो ।

कतिखेर दोहोरो भिडन्तको निसानिमा परिन्छ भनेर त्रसित हुँदै थिएँ । बाहिर कफ्र्यू लागिरहेको थियो । प्रहरीको हवाई फाइरिङ रातैभरि जारी नै थियो । लागिरहेछ कुनै युद्धभूमिको जेलमा बाँधिए जस्तो । मध्यरात भयो । बाहिरको दृश्य हेर्दा लाग्थ्यो चुक पोखिए जस्तो कालो । समय अझ भयावह लाग्दै थियो । जाडोले जिउ थर्थर काँप्दै थियो । मुटु ढुकढुक हल्लिहेको थियो । दिउँसो लगाएको पातलो कपडाले न्यानो दिलाउन सकिरहेको थिएन । भोक र निद्रा हराम भएको थियो ।

त्रसित मनभित्र दिउँसोका दुई युवक इन्स्पेक्टरमाथि भएको गोली प्रहार आफू अक्क न बक्क भएर बसेको अवस्था गोलीको आवाज मानिसको कोलाहल त्रासै–त्रासले भरिएको परिदृश्य नै चलचित्रको रिलझैँ बारम्बार घुम्दै मस्तिष्क नकारात्मक शैलीमा तरङ्गित हुँदै दौडिरहेको थियो । मनमा हलचल मच्चिरहेको थियो । एकाएक मलाई बच्चाहरूको याद आयो । मातृत्व पोखियो । बेलुका दोकानभित्र बर्सेका गोलीले मलाई लागेको भए अवश्य म मर्थेँ । मेरा अबोध बाबु नभएका टुहुरा नानी कसले हेथ्र्यो होला ? लालनपालन शिक्षादीक्षा कसले गथ्र्यो होला ?

अनेकौ मनमा तर्कना खेल्यो । निक्कै भावुक भएँ ! बलिन्द्रधारा आँखाबाट आँसु बग्यो । अनिदो भयावह रात कोल्टे फेर्दै झिसमिसे बिहानीले संकेत गर्यो । कुखुरी काँ गरेर कुखुराको भाले बास्यो । समय हेर्ने घडी पनि थिएन । अन्दाजमा लाग्थ्यो तीन बजेर तीस मिनेट भए जस्तो । परिस्थिति अलि सामान्य भए जस्तो महसुस हुँदै थियो । भोको पेट र अनिदोमा शिशिर यामको जाडोले अझै बिहानीपख कक्राइरहेको थियो । संघर्षको पाटोहरूले अनगिन्ती परीक्षामा मलाई नै होमिरहेको थियो । कतै फलामे जन्जिरले बाँधिएकी थिएँ ।

कतै मृत्युका मुखसम्म माझिएकी थिएँ । केही समयमा समधुर उज्यालो प्रकाश छरियो । चराचुरुङ्गी गुनगुनाएको आवाज कानमा गुन्जियो । अलिअलि मानिसको चहलपहल हुन थाल्यो । घरमै सानी छोरीले हाम्रो पसलमा गोली चल्यो भन्ने चाल पाइछन् । बिलौना गर्दै रुँदै मलाई खोज्दै आइन् । साथमा छिमेकी पनि थिए । कोही सँगै आएका कोही अलिक अघिपछि हुँदै । मैले शून्य भएर उजाडिएको संसार भेटेंजस्तो लाग्यो । एकाएक हाम फालेर नानीलाई अँगाल्न पुगेछु । सास उसरी नै स्तब्ध भएको थियो त्यो क्षणमा, जसरी स्तब्ध म गोली चल्दा प्रत्यक्षदर्शी बनेर उभिएकी थिएँ ।

फरक यति थियो, त्यस गोलीकाण्डमा म जीवनबाट निराश भएर सामुमा मृत्युलाई उभिएको देख्थेँ भने अहिले मेरो जीवनको सर्वश्वमध्ये एउटी मेरी सानी छोरी मसँग थिइन् र म जीवन जिउने आशाको हल्का किरण देख्तै थिएँ । छोरीले मलाई देख्नासाथ मामु–मामु भन्दै उसरी नै हाम फालेर मेरो अँगालो बाँधिइन् । एक जुनी बितेपछि अर्को जन्ममा भएको पुनर्मिलनको अनुभूति भयो । अझै म निक्कै भावुक भएँ र मातृत्व छचल्कियो । छोरीलाई अँगालोमा टाँसेर बोकेर घरतिर लागेँ । घरमा गएर फ्रेस भएर खाना खाएर पसल खोल्न बजार आएँ ।

पसलअगाडि केही पत्रकार मेरो प्रतिक्षा गर्दै रहेछन् । म पसलमा पुग्नासाथ पत्रकारले मलाई प्रश्न गर्न थाले । शून्यताले घेरेको मन रित्तिएको भावना । तर्सिएको ज्यान । नदेखेको घटना भोग्नुपर्दाको व्यथा यस्तो अवस्थामा मैले घटना बताउन सक्ने सामथ्र्य के थियो होला र । तर पनि घटनाको प्रत्यक्षदर्शी म नै थिए । त्यसैले मैले पनि घटनाको विवरण सकेसम्म जस्ताको तस्तै भनिदिएँ । घटनाका कारणले जिल्ला बाहिर गएका एसपी पनि अफिसमा जिम्मेवारी सम्हाल्न आइपुगेछन् । घटनाको जानकारी लिन एसपीले सोधपुछका लागि मलाई जिल्ला प्रहरी कार्यालय बोलाए ।

सम्पूर्ण घटना क्रमलाई प्रश्न गर्दै गए । मैले उत्तर दिँदै गएँ । यदि मेरो पसलमा इन्स्पेक्टरलाई गोली लागेको भए अवश्य प्रहरी यातनाको भागीदार हुने थिएँ । त्यो दिन अदृश्य भगवान्ले बचाए जस्तो लाग्यो । त्यस घटनापश्चात् हरेक बाटोमा हिँड्ने मानिसप्रति मेरो नकारात्मक धारणा उब्जिन थाल्यो । कुनै नयाँ मानिस देख्नासाथ डरले काँप्न थालें । पसलमा आउने हरेक नयाँ मानिस पेस्तोलधारी हुन् जस्तो महसुस भयो । डरै डरले डिप्रेसनको सामना गर्नुपर्यो । द्वन्द्व दिनदिनै चर्किंदै थियो । आफ्नो प्यारो देशबाट विस्थापित भएर परदेश लागेँ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०८:३७