सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा दूतावास बन्द गर्दै उत्तर कोरिया

उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास बन्द गर्ने भएको छ । सन् २०१८ बाट संयुक्त राष्ट्रसंघको आर्थिक नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले आर्थिक अभावको कारण नेपालबाट दूतावास हटाउन लागेको हो ।

स्रोतका अनुसार नेपालबाट दूतावास हटाउने सम्बन्धमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । साथै सोमबार उत्तर कोरियाका राजदूत जो योङ मानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । उक्त अवसरमा पनि उनले प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

अहिले उत्तर कोरियाको दूतावास ललितपुरको झम्सिखेलमा छ । आर्थिक सङ्कटलाई टार्नको लागि उत्तर कोरियालीहरूले काठमाडौं उपत्यकाका केही स्थानमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए, तर राष्ट्र संघको नाकबन्दीको कारण नेपाल सरकारले उनीहरूको गतिविधिमा कडाइ गर्दै आइरहेको थियो । उत्तर कोरियाले लामो समयदेखि आणविक हतियार बनाएपछि आर्थिक नाकाबन्दी लगाइएको हो ।

नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि दुई मुलुकबीचमा सन् १९७० मा आएर द्विपक्षीय व्यापार सम्झौता भएको हो । नेपालको बेइजिङमा रहेको दूतावासले नै उत्तर कोरियालाई हेर्ने गरे पनि उत्तर कोरियाले भने नेपालमा दूतावास राखेको थियो । अब भने बन्द हुने भएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ०६:५२

लोकप्रिय