सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पपीडितको उद्धारमा खटिँदै जनप्रतिनिधि र सुरक्षाकर्मी

गएराति आएको भूकम्पले क्षति भएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली लिएर जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर सौजन्य : प्रधानमन्त्री कार्यालय

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कडायतका अनुसार अहिलेसम्म भूकम्पमा परेर १३८ जनाको मृत्यु भइसकेको छ भने १६६ जना घाइते भएको विवरण प्राप्त भएको छ ।

अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उनले बताए । कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

जाजरकोटमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४५० जनाको सुरक्षा फौज परिचालन भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ ।

यस्तै डीआइजीपी डा.गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ भने नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताए ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १६:०८

लोकप्रिय