सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पले जाजरकोटको खलंगा ध्वस्त, हालसम्म १०९ धक्का (तस्वीरसहित)

शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा बजार क्षतविक्षत भएको छ । जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घर भत्किएका छन् ।

अहिलेसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र कुसे गाउँपालिका गरेर ९८ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने घाइते कति छन् र कति घरभित्र च्यापिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।

भूकम्पको केन्द्रविन्दु भएको बारेकोट गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए र बारेकोटबाट मानवीय क्षतिको विवरण भने आएको छैन । हालसम्म जाजरकोटमा ९८ र रुकुमपश्चिममा ३८ गरी १३६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच शुक्रबार मध्यरातीदेखि अहिलेसम्म १०९ धक्का मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १५:०४

लोकप्रिय