सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर जितेका भक्तबहादुरको फस्टाएको राडी व्यापार

राडीको बारेमा धेरैले सुन्नुभएकै होला । घरमा पाहुना, नयाँ व्यक्ति तथा सम्मान गर्नुपर्ने मानिस आउँदा बस्नका लागि सम्मान स्वरुप बिछाउन प्राय राडीको प्रयोग गरिन्छ । यो परम्परा हिमाली, पहाडी र तराईका केही क्षेत्रहरूमा अहिले पनि जीवितै छ । अहिलेका युवा पुस्तालाई भने यसबारे धेरै ज्ञान नहुन पनि सक्छ । समय अनुसार धेरै परम्परागत सामाग्रीहरू परिमार्जन हुने तथा रीतिरिवाज विलय हुन थालेका छन् ।

पुराना पुस्ताहरूले बनाउने सामाग्रीहरू ठेकी, गुन्द्री, ढिकी, जाँतो, हलो, राडीहरू बिस्तारै नेपाली समाजबाट लोप हुने अवस्थामा पुगेको छ । आधुनिक तथा अत्याधुनिक सामाग्रीहरूले ती परम्परागत सामग्रीलाई प्रतिस्थापन गर्दै लोपोन्मुख बनाइरहेका छन् । जसका कारण नेपालका पुराना परम्परागत उत्पादनहरू बिस्तारै हराउँदै गइरहेका छन् । अहिलेका युवा पुस्ताले पुराना पेसा तथा उत्पादनहरूलाई पुरानै शैलीमा बजारसम्म लैजान भने झिँजो मान्छन् ।

बाजेहरूले गरेको पुराना पेसालाई नै मुख्य आधार बनाएर जीविकोपार्जन गरी राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन्, भक्तबहादुर गुरुङ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ का भक्तबहादुर उमेरले ६० वर्षको भए । हँसिलो मुहार गरेका भक्तबहादुर हातमा लौराको सहाराले ८ देखि १० वटा राडी बोकेर हिँड्छन् । अहिले राडी बोकेर बेच्दै हिँड्नु भक्तबहादुरको दैनिकी नै बनेको छ ।

राडीहरूको भारी बोकेका भक्तबहादुर चर्को घाम नभनी आफैले बुनेको लोकल राडी बिक्री गर्न बटुवादेखि घरघरका मान्छेमाझ पुग्ने गरेका छन् । शिक्षाको लागि विद्यालयको आँगन समेत नटेकेका भक्तबहादुरले घरमै बा आमाले कालोपाटीमा खरी तथा अँगारले लेखेर अक्षरसम्म लेख्न र पढ्न सिकाएको बताए । उ बेलामा विद्यालयको त्यति राम्रो व्यवस्था थिएन । एसएलसी पास गरेका एक मास्टरले गाउँमा एउटा छाप्रोमा विद्यालय खोलेका थिए ।

भक्तबहादुर भन्छन्, ‘त्यही पनि हाम्रा बा आमाको धेरै सन्तान भएकाले विद्यालयमा पढाउन सक्नुभएन । धेरै सन्तानको पढाई खर्च धेरै लाग्ने भएकाले हामीले विद्यालयसम्म पुग्न सकेनौँ । बा आमाले आफूले सकेको घरमै सिकाए । म त्यसैमा सन्तुष्टि छु ।’ भक्तबहादुरले राडी बुन्नेदेखि के कसरी सामाग्रीहरूको प्रयोग गर्ने भनेर सानै उमेरदेखि सिकेका रहेछन् ।

घरमा बाजेहरूलाई सघाउँदा नै प्राय सबै कामहरू जानी सकेका भक्तबहादुरले काठमाडौँ आएर तीन हजार ५०० को लगानीमा पहिलो पटक राडी व्यवसायको सुरुवात गरेको बताए । भक्तबहादुर भन्छन्, ‘टेकुको एक मासु पसलबाट तीन हजार ५०० को भेडाको ऊन किनेर लगे । ३ हजार ५०० को लगानीमा १४ देखि १५ वटा राडी तयार गरे । २०४९ सालतिर एउटा राडीको ४०० देखि ५०० सम्ममा बेचियो ।’

लगभग ७–८ हजार कमाइ भएको गुरुङले बताए । त्यस समय १५ वटा राडी तयार गर्न उनलाई एक महिना लागेको थियो । भेडाको ऊन पेलेर रातो कालो सेतो रङ छुट्टाएर शुद्ध पानीमा पखालेर त्यसलाई तयारी ऊन बनाइन्छ । तयारी ऊनलाई चर्खामा राखेर धागो बनाइ । धागोलाई डल्लो पारेर तान लगाएपछि तीन रङ मिलाएर बुन्नुपर्दछ । यसरी मात्रै लोकल राडी तयारी गर्न सकिने भक्तबहादुरको अनुभव छ ।

सामान्यतया एउटा राडी बनाउन एक दिन लाग्ने र महिनाको १० देखि १५ दिन डुल्दै बेच्दै गर्दा ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यति सजिलो छैन नि दिनरात गरी बनायो । बिहान ७ बजे कोठाबाट निस्केर बेलुका ५ बजेसम्म बाटोमा भारी बोक्दै हिँड्नुपर्छ । त्यसमाथि सामान किन्ने बेलामा मान्छेको किचलो व्यवहार पनि सहनैपर्छ । जे होस् परिश्रमको फल मिठो हुन्छ ।’

खुसीको पल सम्झँदै भक्तबहादुर भन्छन्, ‘कोही ग्राहकले त तोकेभन्दा दोब्बर मूल्य पनि दिएर जानुहुन्छ । सायद बूढो मान्छेको दुःख देखेर होला । कोही धेरै मनकारी भेटिन्छन् भने कोही किचलोको पनि हद पार गर्ने हुन्छन् ।’ अहिले म्याट, कार्पेटले मार्केट लिएको छ । गाउँघरमा बुन्ने राडी गुन्द्रीहरू लोप भएकोमा उनी निकै चिन्तित छन् । अहिले मान्छेलाई आधुनिकीकरण सिकाउने क्रममा पुराना संस्कृति जोगाउने सामाग्रीको ज्ञान नहुँदा उनी चिन्तित बनेका हुन् ।

उनले राडी बेचेर नै आफूले घर खर्च चलाउनेदेखि आफ्ना दुई छोरालाई बोर्डिङ स्कुलमा पढाउन सक्ने भएको बताए । भक्तबहादुर भन्छन्, ‘राडी बेचेरै जेठो छोरालाई ८ वर्षअघि जापान पठाए ।’ केही समयअघि राडी बेचेकै पैसाले कान्छो छोरालाई पनि जापान पठाएको उनले बताए । राडी बोक्दै कहिले रत्नपार्क, कहिले ठमेलका गल्ली त कहिले भक्तपुर डुल्ने उनको दिनचर्या बनेको छ । स्थान परिवर्तन भए पनि गुरुङको लक्ष्य भनेको एकै हो ।

नेपालमा उत्पादन र निर्माण गरिएको बस्तुको परिचालन स्वदेशमै गर्ने । भक्तबहादुरलाई २०५८ सालमा क्यान्सर रोगले सताएको रहेछ । सुरुमा घाँटीमा चामलका दाना जस्तो फोका आएको थियो । पछि बिस्तारै फोका बढ्न थाल्यो । उनी भन्छन्, ‘पानी निल्न पनि नसकिने भएको थियो । धेरै वटा अस्पतालमा गएर परीक्षण गर्दा पनि रोग पत्ता नलागेपछि केएमसी अस्पतालले रोग पत्ता लगाएर शल्यक्रिया गरेपछि निको भयो ।’

हातले घाँटीको बायाँ भागमा देखाउँदै गुरुङ भन्छन्, ‘यहाँ मासु फुलेर ठुलो भएको थियो । धन्न समयमै अस्पतालले रोग पत्ता लगाउन सफल भयो र प्राण बच्यो ।’ क्यान्सर जस्तो रोगलाई जितेका भक्तबहादुरले आफ्नो सम्पूर्ण खर्चहरू राडी बेचेको पैसाले गर्न सफल भएको बताए । उनी भन्छन्, ‘गर्न सके प्रचुर सम्भावना पनि छ ।’ उमेरले साथ दिएछ भने यसलाई लगानी बढाएर ठुलो व्यवसाय बनाउने मन रहेको बताउँदै भक्तबहादुर पुनः आफ्नो राडीको चाङ बोकेर ग्राहक खोज्न लागे ।

स्रोत : आइएनएस
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०८:०५

लोकप्रिय