सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिम पुगेर के-के भने प्रचण्डले ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् ।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका  हुन् ।

सत्ता गठबन्धन भत्काउन अनेकौं प्रयत्न भएको भन्दै उनले ती प्रयत्न असफल हुने जिकिर गरे ।  ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो ।

गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ ।’

यस्तै देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नका लागि सरकारले सत्य निरूपण तथा बेपत्तासम्बन्धी विधेयक टुंगाउन पहल गरिरहेको उनले बताए ।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ । यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्।

यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ’, उनले भने ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव छिट्टै नेपाल आउने जानकारी दिए । महासभामा जाँदा महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको स्वीकारेर आउन लागेको उनले बताए ।

त्यस्तै आफ्नो निमन्त्रणा स्वीकार गरेर कतारका राजा पनि नेपाल आउन लागेको जानकारी दिए । ‘वैदेशिक लगानीलाई व्यवस्थित गर्न कतारका राजालाई निमन्त्रणा गरेका छौं । कतार उदीयमान मुलुक हो।  नेपालमा लगानी गर्न इच्छुक छ। यसका लागि हामीले सकारात्मक पहल गरेका छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

यसैगरी उनले गाउँमै आएर  सहिद, वेपत्ता तथा घाइते परिवारलाई भेट्न पाउँदा खुसी लागेको बताए । व्यवस्था परिवर्तनका लागि सहिदहरूको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो । सरकारले  जनयुद्ध दिवसमा बिदा दिएर सहिदहरूको योगदानको उच्च सम्मान गरेको उनले दाबी गरे ।

क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रुकुम रोप्पा आउने गरेको स्मरण गर्दै उनले शान्ति प्रक्रियापछि जनताको अवस्था बुझ्न फेरी आएको उनले बताए ।

‘क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गर्थें। तपाईहरूले क्रान्तिको रक्षा गर्नुभयो, नीति र नेतृत्वको रक्षा गर्नुभयो। शान्ति प्रक्रियापछि पनि तपाईंहरूसँग बढी आएको छु’, उनले भने, ‘यो आधार इलाकाबाट उर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ ।’

यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको बताउँदै उनले विशेष अभियान पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार भएको जिकिर गरे ।

उनले विचारको प्रश्न सबैभन्दा माथि हुने भन्दै अहिले प्रचण्डपथ छोडेर पार्टीभित्र अनेकता देखिएको बताए । यसलाई फेरि विचार संश्लेषण गरेर अघि बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १८:२६

लोकप्रिय