सूचनाको शक्ति - The Power Of Information

        

कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी !

कम्बोडियाको टेलिकम कम्पनीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको विषय पुनः एक पटक चर्चा आएको छ । केही साताअघि युवा संघका कार्यकर्ताले मोसो दलेपछि ओलीविरुद्ध आक्रामक बनेका एमालेका पूर्व केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पछिल्लो समय यस विषयलाई झनै प्रचारमा ल्याएका छन् ।

मोसो दलिएपछि झनै आक्रामक बनेका प्रसाईँले थुप्रै युट्युबरसँग अन्तरवार्ता दिँदै कम्बोडियाको टेलिकम कम्पनीमा ओलीले करोडौँ लगानी गरेको अभिव्यक्ति दिने गरेका छन् । ओलीको लगानीबारे आफूसँग प्रमाण समेत रहेको प्रसाईँले भन्दै आएका छन् । करिब चार वर्ष पहिलो पनि कम्बोडियामा ओलीको लगानीबारे समाचार बनेको थियो ।

अंग्रेजी भाषाको भारतीय टेलिभिजन ‘डब्लूआइओएन’ले कम्बोडियाको टेलिकममा ओलीको लगानी गरेको समाचार प्रसारण गरेको थियो । पछिल्लो समय प्रसाईँले ओलीमाथि आरोप लगाउन थालेपछि सोही भिडियो भाइरल भएको छ । जुन भिडियोमा ओलीले कम्बोडियामा लगानी गरेको दाबी गरिएको छ ।

दुर्गा प्रसाईँको आरोप र डब्लूआइओएनको उक्त पुरानो रिपोर्ट सामाजिक सञ्जालमा भाइरल भएपछि पछिल्लो समय ओलीले कम्बोडिया भ्रमण गरेको समाचारहरूलाई जोडेर थप भिडियो बनाउँदै सामाजिक सञ्जालमै ओलीको कम्बोडिया सम्बन्ध थप पुष्टि गर्न खोजिएको छ ।

एमाले पक्षले भने ओली प्रधानमन्त्री भएको बेला नेपालको नयाँ नक्सा चारी भएको र उक्त नक्सामा भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका कारण भारतीय पक्षले ओलीमाथि अनर्गल आरोप लगाएको बताउने गरेका छन् ।

साँच्चिकै ओलीको लगानी छ ?

कम्बोडियामा लगानी रहेको विषय सार्वजनिक चासो बने पनि अध्यक्ष ओलीले यस विषयमा सार्वजनिक वक्तव्य दिएका छैनन् । अध्यक्ष ओलीले यस विषयमा पछिल्लो समय केही नबोले पनि महासचिव शंकर पोखरेलले भने सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

राजावादीहरूले ‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी’ भनेर भ्रम छरिरहेको आरोप लगाएका छन् । टेलिकम कम्पनीमा ओलीको लगानी रहेको भनिएता पनि कुन टेलिकम हो भन्ने खुलाइएको बताइएको छ । त्यसैले हल्ला मात्रै हो या वास्तविक नै हो भनेर कसैले छुटाउन मुस्किल छ ।

सबै नेपाली नेतालाई लाग्ने आरोप

नेपालका सबैजसो नेतालाई विदेशमा पैसा लुकाएको आरोप लाग्ने गरेको छ । तर, अहिलेसम्म कुनै पनि नेताले विदेशमा पैसा लुकाएको पुष्टि भएको घटना छैन । विशेषगरी राजनीतिक प्रतिशोधका आधारमा एकले अर्कालाई राजनीतिक दलकै नेताले यस्तो आरोप लाउने गरेका छन् ।

तर, कसैले पनि पुष्टि गरेका छैनन् । त्यसैले, ‘केपी ओलीको कम्बोडियामा लगानी’ भन्ने विषय पनि अनुत्तरित नै रहने सम्भावना छ । तर, अन्तर्राष्ट्रिय रूपमा रिसर्च गर्ने संस्थाहरूले मिहिन रूपमा अध्ययन गर्ने हो भने यस्ता विषयहरू स्पष्ट हुन सक्छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १०:३७

लोकप्रिय