सूचनाको शक्ति - The Power Of Information

        

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङमा रहेकाे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज बिहीवार दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्त्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।

चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र श्रेष्ठकाे उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गर्नुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १७:४७

लोकप्रिय