सूचनाको शक्ति - The Power Of Information

        

मुस्ताङलाई ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड मुस्ताङमा पठाउने घोषणा गरेका छन् ।

बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।

उनले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताए ।  “पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ ।

मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरे,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।”

हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित नरहने उनको भनाइ छ ।  जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा भएको उनले बताए ।

कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राखिने र विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्ने उनको भनाइ छ ।

उनले मुस्ताङको जलवायु संरक्षणको सरकारको प्राथमिकतामा रहेको पनि सुनाए ।  “मुस्ताङ जिल्ला बहुआयामिक विशेषता बोकेको जिल्ला हो ।

स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ,” प्रधानमन्त्रीले भने, “मुक्तिनाथलगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्व छ ।

तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।”

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ११:४६

लोकप्रिय