सूचनाको शक्ति - The Power Of Information

        

कोसीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कोसी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन लागेका छन् ।

गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनले आइतबार पद तथा गोपनीयताको सपथ लिए ।

गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै विश्वासको मत लिन लागेका हुन् ।

अहिले सत्ता गठबन्धनले कार्की आफ्नै मुख्यमन्त्री भएको बताउँदै आएको छ । एमालेले आफ्नो समर्थनमा उनी मुख्यमन्त्री बनेको बताइरहेको छ । गठबन्धन र एमालेको दबाबका कारण कार्कीले तत्कालै प्रदेशसभाबाट विश्वासको मत लिन खोजेको उनी निकट स्रोतले बतायो ।

कार्कीलाई गठबन्धनले आफ्नै मुख्यमन्त्रीका रूपमा स्वीकार गरेको छ । गठबन्धन कायम राख्न पनि कार्कीमाथि दबाब बढेको छ । त्यस्तै एमालेले आफूहरूसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्न दबाब दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ०७:३३

लोकप्रिय