सूचनाको शक्ति - The Power Of Information

        

कोशीमा राजनीतिक अस्थीरता

कांग्रेसको विद्रोही समूहका कार्की बने कोशीका नयाँ मुख्यमन्त्री

नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेका हुन् ।

नेपाली कांग्रेसको विद्रोही समूहका केदार कार्की कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । कांग्रेसको डा शेखर पक्षका कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

कार्की आफ्ना ८ र अन्य एमालेका गरी ४७ जनाको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सो हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङले सदर गरेपछि कार्की आजै मुख्यमन्त्री बनेका हुन् ।

नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेका हुन् । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कोसीका प्रदेश प्रमुख खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए । मुख्यमन्त्रीमा कार्कीलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।

अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् । गत बिहीबार आङ्बो र कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

उनीहरू दुवैले ४७/४७ जनाको हस्ताक्षर बुझाएका प्रदेश प्रमुख कार्यालयको भनाइ छ । केही सांसदहरूको हस्ताक्षर दुवैतिर रहेकाले को–कसको पक्षमा हो भनेर निर्क्यौल गर्न प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गर्ने तरिका अपनाएका हुन् ।

शुक्रबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने समय थियो । तर बिहीबारै परेका दुई दाबीमाथि कुनै निर्णय नगरी उनले शनिबार सनाखत गर्ने निर्णय लिएका थिए ।

आङ्बोले हस्ताक्षर बुझाएका ४७ जनामध्ये ८ जनाले कार्कीको पक्षमा हस्ताक्षर गरेका थिए । उनीहरूले आङ्बोले बुझाएको आफ्नो हस्ताक्षर झुटा भएको बताएका थिए । त्यसको जानकारी सहित उनीहरूले बिहीबार नै प्रदेश प्रमुख खापुङलाई निवेदन समेत दिएका थिए ।

९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १०:०७

लोकप्रिय