कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको हो । प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।’
सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गरेका कांग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भएर प्रदेश प्रमुखलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न दबाब दिएका थिए । नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन भएकाले मुख्यमन्त्री नियुक्त गर्न सशरीर उपस्थित भएर उनीहरूले प्रदेश प्रमुखलाई दबाब दिएपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गराउने निर्णय गरेका हुन् ।
गठबन्धन दलका शीर्ष तहमा भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको समर्थनको पत्रसहित मुख्यमन्त्री दाबी गरेका थिए भने कांग्रेस सांसद कार्कीले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन् । कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम यसअघि गठन भएको दुई वटा सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि उपधारा ३ अन्तर्गत ठुलो दलको हैसियतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको थियो ।
कार्की नेतृत्वको सरकारले पनि भदौ २० गते विश्वासको मत पाउने आधार नभएपछि उनले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम विश्वासको मत पाउने आधारसहित शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको यस धाराबमोजिम प्रदेश सभामा विश्वासको मत पाउने अवस्था भएको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं