सूचनाको शक्ति - The Power Of Information

        

एमाले सुदूरपश्चिममा ‘जबरजस्त सहमति’, अध्यक्षमा जैसी सर्वसम्मत

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कन्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा शाही हिजै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत भएकी हुन् । कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।

सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन् । उपसचिव (खुल्ला)मा कञ्चनपुरका नरबहादुर विक पनि सर्वसम्मत भएका छन् । यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन् । अन्य सदस्यमा पनि सहमति प्रयास भइरहेको छ ।

को हुन् जैसी ?

शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ । उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन् ।

ओली त्यतिबेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए । २०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भए ।

त्यस्तै २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ११:१३

लोकप्रिय