सूचनाको शक्ति - The Power Of Information

        

भाषण सुन्ने मान्छे नभएपछि जुरुक्क उठेर हिँडे माधव र झलनाथ

सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदन–आश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरुसहित झण्डै १५० जना जति मान्छे जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेतिर लागेका हुन् । गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरे पनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरु निराश भएका छन् ।

‘घरतर्फ जाँदै थिए यसो हेरेको माधव र झलनाथलाई देखेर भाषण सुन्न बसे । उनीहरु जुरुक्क उठेर भाषण नगरेर हिँडे । मान्छे नभएर भाषण नगरेको बुझियो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधा घन्टाको समय बेकार खेर गयो । यसले राम्रो सन्देश गएन,’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भने ।

कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गरेका थिए । नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगन्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताइन् ।

‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कसलाई सुनाउने हो । फेरि कमरेडहरुलाई नेपालगन्ज जान पनि हतार थियो,’ सह–इन्चार्ज मियाले भने । पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी वेलवासे लगायतका एसमाजवादीका सयौं नेता तथा कार्यक्रता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १३:१८

लोकप्रिय