सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई कांग्रेस बाँकेको बधाई र सम्मान

 नेपाली काँग्रेस बाँकेले नेपाल प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई  बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

पार्टी कार्यालयमा मुस्लिम संघ र प्रेस युनियनको जिल्ला, प्रदेश र केन्द्रमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायत जिल्ला कार्यसमितिका पदाधिकारीले बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् ।

पार्टीको शुभेच्छुक संस्था युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी र सदस्य गौरव गिरी तथा जिल्ला कार्यसमिति अध्यक्ष प्रियास्मृति ढकालसहित कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई टिका र खादा लगाएर बधाई तथा सम्मान गरिएको हो ।

युनियनको २०७९ माघ ५ र ६ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्ष जयसिंह केसीसहित तीन जना बाँकेबाट निर्वाचित भएका थिए । केसी भने कार्यक्रममा अनुपस्थित थिए ।

यसैगरी गत साउन २७ गते सम्पन्न युनियन बाँकेको जिल्ला अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । २०७९ साउन ६ गते केन्द्रिय महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित प्रेम केसी तथा केन्द्रिय सदस्यद्वय शोभा केसी र कमला हमाललाइ यसअघि नै सम्मान गरिएको थियो ।

यस्तै मुस्लिम संघका नवनिर्वाचित केन्द्रिय सदस्यहरु मेराज हल्वाई, मेराज अहमद खाँ र जी नुरैन मुल्तमिस (साहिल) लाई बधाई ज्ञापनसंगै सम्मान गरिएको छ । संघको हालै सम्पन्न केन्द्रिय महाधिवेशनबाट बाँकेका तीनै जना केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

बधाई तथा सम्मान कार्यक्रममा केन्द्रिय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, मुस्लिम संघका केन्द्रिय सदस्य मुल्तमिस, पार्टीका प्रेस सल्लाहकार एवम् युनियन लुम्बिनी प्रदेश महासचिव गिरी, जिल्ला अध्यक्ष ढकाल, उपाध्यक्ष कमल खत्री, मुस्लिम संघका केन्द्रिय सदस्य मुल्तमिस लगायतले बोलेका थिए ।

उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा काँग्रेस बाँकेका सहसचिवद्वय बिनोद थारु र रेणु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ०२:४५

लोकप्रिय