सूचनाको शक्ति - The Power Of Information

        

बिरामीको स्वास्थ्यमा खेलबाड

क्यान्सर अस्पतालमा कमिसन लफडा, थन्कियो २५ करोडको ‘लिन्याक’ मेसिन

‘लिन्याक’ मेसिन क्यान्सरका विरामीको उपचारका लागि अत्यावश्यक हो । कमिसनकै लफडाका कारण मेसिन अहिलेसम्म पनि जडान हुन सकेको छैन ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरीद गरेर ल्याएको २५ करोडको ‘लिन्याक’ मेसिन थन्किएको छ । बहुप्रतीक्षित २५ करोड लागतको ‘लिन्याक’ मेसिन जडान हुन नसक्दा उपचारका लागि अस्पताल आउने विरामीले सो मेसिनबाट पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

मेसिन जडान गरेर सञ्चालनमा ल्याउनेतर्फ कसैले पनि चासो देखाएका छैनन् । मेसिन आइसकेपछि जडानका बिषयमा अस्पताल विकास समितिका अध्यक्ष एवं पदाधिकारी, अस्पतालका कार्यकारी निर्देशक एवं सिनियर कर्मचारी र ठेकेदार कम्पनीबीच कमिशनको सेटिङ्ग नमिलेपछि ‘लिन्याक’ मेसिन थन्किएको छ ।

अस्पताल प्रशासन निकट स्रोत भन्छ, ‘आन्तरिक कमिशनको चक्कर मिलेको छैन, मेसिन जडानका बिषयमा प्रसंग उठेपछि कमिसनमै लफडा भइरहेको छ । कमिसनकै लफडाका कारण मेसिन अहिलेसम्म पनि जडान हुन सकेको छैन ।’ यो मेसिन क्यान्सरका विरामीको उपचारका लागि अत्यावश्यक हो ।

यसले क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने चिकित्सक बताउँछन् । मेसिन सञ्चालनमा नआउँदा क्यान्सरका बिरामीले सेकाइका लागि चितवन, काठमाडौँ या भारत पुग्नुपर्ने बाध्यता अहिले छ । अस्पतालका कार्यकारी निर्देशक फेरिएसँगै अस्पतालको अवस्था लथालिङ्ग हुन थालेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर निरज भट्टराई अस्पतालको कार्यकारी निर्देशक भएर आएसँगै अस्पताल प्रशासन, कर्मचारी र अस्पताल विकास समितिका पदाधिकारीबीच असमझदारी बढ्न थालेपछि अस्पतालको अवस्था लथालिङ्ग हुन थालेको नाम नबताउने शर्तमा एक जना कर्मचारीले जानकारी दिए ।

‘लिन्याक’ मेसिन सञ्चालनका लागि प्रक्रिया अघि बढाइए पनि जडानमै समस्या आउँदा क्यान्सरका बिरामीहरु सो मेसिनबाट पाउने सेवाबाट बञ्चित रहेको अस्पताल विकास समिति अध्यक्ष टेकेन्द्र मल्ल बताउँछन् । मेसिन जडानमा कमिसन मिले नमिलेको बारेमा आफुलाई केही थाहा नभएको भन्दै अध्यक्ष मल्लले अब तत्कालै मेसिन जडान हुने दाबी गरे ।

संघीय अस्पताल भए पनि स्थायी दरबन्दी स्वीकृत नभएकाले उक्त अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको देखिएको छ । मेसिन समयमै सन्चालनमा आउन नसक्दा उक्त लागतमा खिया लागेको हो । मेसिन जडान गरेर चलाउनेतर्फ अहिले पनि खासै कसैले चासो देखाएका छैनन् । यसले मेसिन खरिदको लक्ष्य पुरा हुन सकेको छैन ।

बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन गत पौस महिनामा आइपुगेको थियो । क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो । अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यको पहलमा सरकारी बजेटबाट किनिएको यो मेसिन जडान हुन नसक्दा नौं महिनादेखि गोदाममै थन्किएको छ ।

पश्चिम नेपालका जनताका लागि मेसिन आउनु खुशीको कुरा भए पनि अस्पताल विकास समितिका अध्यक्ष एवं पदाधिकारी, अस्पतालका कार्यकारी निर्देशक एवं सिनियर कर्मचारी र ठेकेदार कम्पनीबीच कमिशनको सेटिङ्ग नमिलेपछि ‘लिन्याक’ मेसिन थन्किनु दुःखद् भएको अस्पताल प्रशासनकै एक जना कर्मचारीले सत्यपाटीलाई बताए ।

ती कर्मचारीले भने, ‘यो क्यान्सरका बिरामीलाई सेकाइ गर्ने मेसिन हो । ‘लिन्याक’ मेसिन जडान भएर सञ्चालनमा आएको भए क्यान्सरका बिरामीहरु अप्रेसन गर्नुअघि र अप्रेसन गरेपछि गरिने सेकाइका लागि अन्यत्र जानुपर्दैन्थ्यो । तर मेसिन नै जडान नहुँदा बिरामीलाई सेकाइका लागि काठमाडौँ, चितवन या भारत जानुपर्ने बाध्यता रहेको छ ।’

नेपाल सरकारबाट विनियोजित बजेटबाट प्राप्त भएको र खरिद प्रक्रिया सुरू भएको लामो समयपछि धेरै प्राविधिक जटिलताका बीच स्वास्थ मन्त्रालयको सहयोगमा मेसिन खजुरा, बाँकेस्थित अस्पतालमा गत पौसमा आइपुगेको ‘लिन्याक’ मेसिन तत्काल जडान गरेर सञ्चालनमा ल्याउनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

‘मेसिन तत्कल जडान गरेर बिरामीसम्म सहज उपचार पुग्ने विश्वास निर्माण गर्नुपर्छ,’ एक जना स्थानीयले भने, ‘कमिसनकै चक्करमा करोडौंको मेसिन थन्किनु हुँदैन । मेसिन तत्काल जडान गरी सञ्चालनमा ल्याएर क्यान्सरका बिरामीले सेकाइको लागि भारत या काठमाडौँ नै पुग्नुपर्ने बाध्यताको सधैंको लागि अन्त्य हुनुपर्छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १०:११

लोकप्रिय