सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको चीन भ्रमणबारे बाबुरामको टिप्पणी

‘प्रधानमन्त्री सतही आतिथ्य सत्कार र तीर्थाटनमा सीमित !’

यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् । नेपाल आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंसामा रमाएर बसेको उनको आरोप छ । प्रधानमन्त्रीले तीर्थाटन जान छाडेर देश विकासका लागि सोच्नुपर्ने उनको भनाई छ ।

‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिएपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘नेपाल यतिबेला आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ । यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ?’

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकूल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको उनले बताए । ‘अहिले २१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीव्र आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन् ।

‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो,’ उनले अगाडि भनेका छन्, ‘सयौँ वर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीव्र गतिको आर्थिक रूपान्तरण (दुई अंकको आर्थिक वृद्धिदर–दुई दशक निरन्तर)को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृङ्खलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुसी हुनेछु ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०५:०८

लोकप्रिय