सूचनाको शक्ति - The Power Of Information

        

माओवादी नेता बडुवालको निधन

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको उपचारको क्रममा आज निधन भएको हो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरि चौधरीका अनुसार केही दिनयता उनी फोक्सोको समस्याले ग्रसित थिए । माओवादीको ३ महिने अभियान अन्तरगत उनी डोटीको बडीकेदार र जोरायल क्षेत्रमा खटिएका थिए ।

त्यही क्रममा उनमा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि कैलालीको लम्कीस्थित लालरत्न अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका नेता समेत रहेका उनका दाजु भगत बडुवालले बताए । उनी १० वर्षे जनयुद्धताका सुर्खेत जेल ब्रेकरको रूपमा पनि परिचित थिए ।

उनी लामो समययता पत्नी र नाबालक पुत्र वियोगमा विक्षिप्त थिए । पत्नी भागरथी बडुवाल र छोराको २०७१ असोज २० गते डोटीबाट दसैँ मनाएर कैलाली फर्किने क्रममा डोटीकै जोरायलमा बस दुर्घटना हुँदा निधन भएको थियो ।

पछिल्लो समय उनी माओवादीको राजनीतिक गतिविधिमा सक्रिय थिए । आज लम्कीमा श्रद्धाञ्जली कार्यक्रमपछि अन्त्येष्टि गरिने माअ‍ोवादी केन्द्रका प्रदेश अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ०४:०२

लोकप्रिय