सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री दाहाल र चिनियाँ प्रधानमन्त्री छ्याङबीच आज भेटवार्ता हुँदै

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदैछ ।

आइतबार बेइजिङ पुग्नु भएका प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षी लिले सोमबार थियानमन स्क्वायर स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सुरु हुने द्विपक्षीय वार्तामा बेल्ट एन्ड रोड इनिसिएटिभ्स अन्तर्गतको योजनाको कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने संभावना रहेको बुझिएको छ ।

यस्तै, नेपाल–चीन सीमापार विद्युत् व्यापार सम्झौता पनि हुनसक्ने छ । चीनले नेपालमा निर्माण गरिदिन चाहेको औद्योगिक पार्कको विषयमा पनि छलफल हुनेछ । यस्तै, व्यापार सन्धिको पुनरावलोकन, नेपालमा चिनियाँ लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत विषयमा पनि छलफल हुनेछ ।

नेपालले खाँदबारी किमाथांका सडक निर्माण, धुलिखेल–तातोपानी सडक स्तरोन्नति, खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडक निर्माण, सिमकोट–हिल्सा सडक स्तरोन्नति र टोखा–छहरे सुरुङमार्ग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गर्ने तयारी गरेको छ ।

यस्तै, रसुवागढी–चिलोङ र किमाथांका–तिब्बत प्रसारणलाइन र काठमाडौं उपत्यका विद्युत् सुधारमा पनि चीनको सहयोग नेपालले खोज्ने बुझिएको छ । मुस्ताङको कोरला, हुम्लाको यारी र संखुवासभाको किमाथांकामा एकीकृत जाँच चौकी निर्माण, गोरखा, दार्चुला र बझाङमा थप नाका खोल्ने विषय अघि सारिने छ ।

प्रधानमन्त्री दाहालले सोमबार नै चिनियाँ जनकंग्रेसका अध्यक्ष चाओ लिचिसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आगामी बुधबार बेइजिङबाट छोङछिङ जाने कार्यक्रम छ ।

गत शनिबार न्युयोर्कबाट चीनको हाङचउ पुग्नु भएका प्रधानमन्त्री दाहालले त्यही दिन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०२:१४

लोकप्रिय