२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

बीआरआई कार्यान्वयनमा प्रस्ताव गर्दै चीन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ७ गते आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठक सकेर चीन पुगेका छन् ।

आठदिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङलगायत अन्य उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेकोमा पहिलो दिन नै राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ नै प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन् । साथै चिनियाँ अरबपति ज्याक माको स्वामित्वमा रहेको अलिबाबा समूहको मुख्यालय भ्रमण गरेका छन् । माले असारको अन्त्यमा नेपाल भ्रमण गरे पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिएनन् ।

‘नेपाल र चीन असल मित्र, नजिकका छिमेकी र भरपर्दो साझेदारका रूपमा उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको छ,’ परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भन्यो, ‘यस बलियो सम्बन्धको आधार संस्कृति, इतिहास र भूगोलमा धेरै समानता छन् । यो भ्रमणले हाम्रो सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रलाई विस्तार गर्नेछ ।’

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार बेइजिङले नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको र यस भ्रमणलाई रणनीतिक आपसी विश्वासलाई प्रगाढ बनाउने, व्यावहारिक सहयोग विस्तार गर्ने, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्तरूपमा निर्माणको अवसर रहेको बताएका थिए ।

साथै नेपाल–चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने बताएका थिए । चीनले जारी गरेको विज्ञप्तिअनुसार चीनले बीआरआई सम्झौता अघि बढाउन पुनः एकपटक प्रस्ताव गर्ने संकेत देखिएको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार