सूचनाको शक्ति - The Power Of Information

        

एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन

संसद्को दोस्रो ठूलो दल नेकपा कम्युनिस्ट पार्टी (एमाले) पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ ।

लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो ।

करिब एक साताको रस्साकस्सीका बीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए ।

प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता हुनुभयो ।

माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द भएको एमालेमा लुम्बिनी प्रदेश अधिवेशनबाट पुनः मतदान हुने अभ्यास शुरू भएको नेताहरूले बताएका छन् ।

लुम्बिनीको अधिवेशन सकेको एमालेले यही असोज महिनाभरि सबै प्रदेशको अधिवेशन सक्ने कार्यातालिका बनाएको एमाले सचिव रघुवीर महासेठले जानकारी दिनुभयो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ७ आश्विन २०८०, आइतवार ०२:२४

लोकप्रिय