सूचनाको शक्ति - The Power Of Information

        

न्याय र समानता संविधानको मूल आत्मा : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, साँस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको धारणा राखेका छन् ।

‘संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ,’ उनले भनेका छन्, ‘राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ ।’

नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:२६

लोकप्रिय