सूचनाको शक्ति - The Power Of Information

        

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गरौँ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै पौडेलले राज्यबाट प्राप्त हुने सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताएका छन् ।

‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’, उनको शुभकामना सन्देशमा भनिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको बताएका छन् ।

उनले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले संविधानप्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको जनाएका छन् । उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:१७

लोकप्रिय