सूचनाको शक्ति - The Power Of Information

        

संविधानले मुलुक समृद्धिको मार्गमा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको बताएका छन् । संविधान दिवसको शुभकामना दिँदै सभापति देउवाले संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै देशमा शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका हुन् ।

उनले संविधानले जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको जनाएका छन् । उनले संविधान बनेको आठ वर्षको अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रूपमा काम गरिरहेको दाबी गरेका छन् ।

‘नयाँ संविधानअनुसार विभिन्न ऐन–कानून निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ। नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्’, उनको शुभकामना सन्देशमा उल्लेख छ । संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:१३

लोकप्रिय