सूचनाको शक्ति - The Power Of Information

        

‘संविधान तीन करोड नेपालीको साझा मिलनविन्दु’

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । खड्काले संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजतर्फ लगेको बताएका छन् ।

उनले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गति अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको दाबी गरेका छन् । ‘यो संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’, उनको सन्देशमा उल्लेख छ, ‘यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो ।’

लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको भन्दै उनले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको तर्क गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:०८

लोकप्रिय