२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

काँग्रेस बाँकेले सम्झियो गणेशमानलाई, शालिकमा माल्यार्पण

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज २ गते मंगलबार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताएका छन् ।

बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको पनि भलो हुने बताए ।

नेपाली काँग्रेस बाँकेले मंगलवार विहान स्वर्गीय सिंहको २६औं स्मृति दिवसका अवसरमा नेपालगञ्जको गणेशमान चोकमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेलले २०४६ सालको प्रथम जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह नेपाली राजनीतिका आदर्श नेता भएको बताए ।

पदको लालचा नराखेर पार्टी बनाउने कर्ममा लाग्नुपर्ने पाठ सिंहबाट सिक्नुपर्ने भन्दै उहाँले आफूले पाएको प्रधानमन्त्री पद पनि त्याग्ने त्यागी नेता सिंहमा समावेशी राजनीतिको परिकल्पना रहेको बताए । त्यसक्रममा सभापति गौडेलले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेपाली काँग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, स्वर्गीय सिंहकी कान्छी सुपुत्री मिता सिंह लगायतले स्वर्गीय सिंहको राजनीतिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रेणु सिंह ठाकुरले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार