हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन आइतबार दरखाने दिन । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
धार्मिक मान्यतानुसार तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ ।
धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ ।
दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ । दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ ।
भोलिपल्ट दिनभर पानीसम्म नपिइ बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो । तीजको अघिल्लो दिन आज (आइतबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ ।
विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।
सत्ययुगमा देवी पार्वतीले शिवजीलाई पतिको रूपमा पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरूमा व्रत बस्ने परम्परा रहीआएको छ । तीजमा अविवाहित महिलाले योग्य पति तथा विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु , प्रगति र परिवासमा सुख शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ ।
हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् । शहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन् ।
दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ ।
वर्षाको मौसम भएकाले बजारमा आउने खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छन् । त्यसैले राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा खाना खानुपर्छ ।
बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ ।
सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा झाडापखालाजस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने चिकित्सको सुझाव छ ।
आजभोलि दरमा माछा मासुजस्ता परिकार पनि समावेश हुने गर्दछन् । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम गर्नु नै राम्रो हुन्छ ।
तेलमा तारेको खानेकुरा धेरै खाँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । अघिल्लो दिनको दरले भोलिपल्ट तिर्खा लाग्नु स्वभाविक हो । तर, व्रत बस्दा पानीसम्म पनि नपिउन स्वास्थ्यका लागि अहितकर हुन्छ ।
पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिन्छ । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु राम्रो हो ।
साथमा शरीरका लागि आवश्यक ग्लुकोज तथा कार्बोहाइड्रेड दिने खालका खानेकुरा पनि खानु पर्छ । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ ।
अर्कोतर्फ व्रतको बेला नाचगानमा धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ ।
दर कार्यक्रममा मदिराजस्ता हानिकारक बस्तुको प्रयोगलाई निरुत्साहित गरिनुपर्छ । पछिल्लो समय दर खाएर विरामी हुने क्रम पनि बढेको छ । यस्तो अवस्थामा स्वास्थ्यप्रति ख्याल गर्नु झन् जरुरी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं