सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

रास्वपामा रवि र स्वार्णिमबीच टकराव

रास्वपाको वैचारिक दस्तावेज, ‘सिकारु भान्सेको खिचडी परिकार’

रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा दर्ता हुँदै गर्दा डा.स्वर्णिम वाग्ले नेपाली कांग्रेस सुदृढीकरण अभियानमा थिए । लामो कांग्रेसी विरासत भएका स्वर्णिम अन्ततः रास्वपामै समाहित भए ।

२०७० मंसिर ४ गते भएको संसदीय निर्वाचनमा कांग्रेसबाट टिकट नपाएका स्वर्णिमले २०८० वैशाख १० गतेको उपनिर्वाचनमा पनि टिकट नपाउने देखेपछि रास्वपा प्रवेश गरेर तनुहँ १ को टिकट लिए । जहाँबाट उनले फराकिलो मतान्तरले जितसमेत निकाले । र, लगत्तै चलेको बजेट अधिवेशनमा दरिलो सहभागिता जनाएर आफ्नो कुरा राखे ।

त्यसबेला उनी चर्चाकै शिखरमा थिए, बजेटमाथि राखेका उनका विचार तथा सुझावलाई सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचारीय ‘स्पेश’ दिन्थे । तर, अहिले उनी पार्टी काममा भन्दा अनौपचारिक कार्यक्रमहरूमा बढी देखिन्छन् । त्यसो त उनलाई पार्टीले खास जिम्मेवारी पनि दिएको छैन । अहिले उनी पार्टीको अर्थनीति प्रमुखको जिम्मेवारीमा छन् ।

त्यसबाहेक उनलाई पार्टीले अरु कुनै जिम्मेवारी दिएको छैन । स्वर्णिम रास्वपामा समाहित हुँदै गर्दा उनका लागि कुनै विशेष पद नै सिर्जना हुने आकलन गरिएको थियो । धेरैले उनका लागि सह–अध्यक्ष वा वरिष्ठ उपसभापति पद सिर्जना हुने अनुमान गरेका थिए । तर, त्यसो भएन । मौजुद रहेको उपसभापति पदमा समेत स्वर्णिम पदस्थापन भएनन् ।

रास्वपा नेताहरू मंसिरको महाधिवेशनपछि यी सबै मिल्ने बताउँछन् । प्रवक्तासमेत रहेका महामन्त्री डा.मुकुल ढकाल भन्छन्, ‘हामीले मंसिरमा महाधिवेशन गर्दैछौँ । त्यो महाधिवेशनले यी सबै विषय टुङ्ग्याउँछ । अहिले हामी पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ ? कसरी सङ्गठन विस्तार गर्न सकिन्छ भन्नेबारे नीति बनाउँदै छौँ । त्यसका लागि गृहकार्य गर्दैछौँ ।’

विधानअनुसार रास्वपामा दुई उपसभापति छन् । एक उपसभापतिमा डोलप्रसाद अर्याल छन् भने अर्को रिक्त छ । तर, यसो हुनुमा अन्य धेरै ‘फ्याक्टर्स’ले काम गरिरहेको बताइन्छ । खासगरी रवि र स्वर्णिमबीच नै मतैक्य नहुँदा कतिपय विषयमा समस्या देखिने गरेको रास्वपा नेताहरूकै भनाइ छ । हुन पनि सतहीरूपमा मात्रै हेर्दा पनि रवि–स्वर्णिमबीच असमानता देखिन्छन् ।

रास्वपामा ‘मूल सिद्धान्त के हो’ भन्नेमै विवाद

रवि पार्टीमा आफैँ सर्वेसर्वा भएको व्यवहार गर्छन्, स्वर्णिम सामूहिक नेतृत्वबाट अघि बढ्नुपर्छ भन्छन् । रवि क्षणभरमै ‘चमत्कार’ गर्ने अभिव्यक्ति दिन्छन् र त्यसैगरी अगाडि बढ्न खोज्छन्, स्वर्णिम विषय र घटनाको सुक्ष्म विश्लेषणपछि मात्रै निर्णय लिनुपर्छ भन्ने सोच्छन् ।

खास विषयको कुरा गर्ने हो भने पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा पनि मिल्ती छैन । रवि एमसीसीका आलोचक हुन्, स्वर्णिम कट्टर समर्थक । यस्तै–यस्तै विषयले रवि–स्वर्णिमका बीच दरार पैदा भइरहेको नेताहरू बताउँछन् ।

निकट स्रोत भन्छ, ‘उहाँहरूबीच कतिपय मेजर सब्जेक्टमा मत–एकता छैन । त्यो जायज पनि हो । किनभने उहाँहरूको पृष्ठभूमि र वैचारिक स्कूलिङ्ग फरक छ । तर, पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुको विकल्पचाहिँ छैन । पार्टी भनेको सङ्गठन हो, सङ्गठनमा विभिन्न विचार र भावना भएका नेता कार्यकर्ता हुन्छन्, ती सबैलाई समेटेर लाने काम नेतृत्वको हो । त्यो काम रविजीबाट हुन्छ भन्ने लाग्छ ।’

जसै यसबीचमा उनीहरूबीच सार्वजनिकरूपमै सवाल–जवाफ भयो । खासगरी नेतृत्वको विषयलाई लिएर भएको सवाल–जवाफले पनि रवि–स्वर्णिमबीच केही भइरहेको सङ्केत गर्छ । ‘नेतृत्व लिनै पनि पछि पर्दिनँ’ भन्ने स्वर्णिमको अभिव्यक्तिमाथि रविको प्रतिवाद थियो, रहरले मात्रै हुँदैन ।

करिब दुई महिनाअघि भएको यो सवाल–जवाफपछि रवि–स्वर्णिमबीच सघन छलफल नभएको निकट स्रोत बताउँछ । पार्टी बैठकमा सतही गफगाफ र हेल्लो–हाई भएपनि उनीहरूबीच विषयगत घनिभूत छलफल नभएको बताइन्छ । केही अगाडि दिएको एक अन्तर्वाताका क्रममा स्वर्णिमले नेतृत्व गर्न आफू सक्षम भएको बताएका थिए ।

‘म आफैँ पनि नेतृत्वदायी भूमिकामा जानसक्ने हैसियत बनाउँदैछु । अब मैले यसो भन्न लाज मान्नुपर्ने अवस्था छैन । किनकि म राजनीतिमा आइसकेँ,’ उनले भनेका थिए । १०–१५ वर्षभन्दा धेरै राजनीति नै नगर्ने उद्घोष गर्दै उनले थपेका थिए, ‘१०–१५ वर्षभन्दा बढी राजनीति गर्दिनँ । कांग्रेस पनि त्यही भएर छाडेको, नेताहरूले अहिले पनि यत्तिकै बस्, पाँच वर्षपछि पनि यत्तिकै बस् भन्दा त मेरो १० वर्ष त यत्तिकै गयो । जबकि मैले १०–१५ वर्षभन्दा बढी राजनीति नै गर्दिनँ भन्दैछु । म जहाँ रहेपनि जीवनपर्यन्त राजनीति गर्दिनँ । सीमित वर्ष गर्ने हो ।’

रास्वपाको वैचारिक दस्तावेज, ‘सिकारु भान्सेको खिचडी परिकार’

यसो भनेर उनले चाँडै नेतृत्व गरेर ओझेलिने सङ्केत गरेका हुन् । त्यसमा कतिपयले मंसिरमा हुने महाधिवेशनमा रवि–स्वर्णिमबीच नै नेतृत्वमा टक्कर पर्ने त होइन भन्ने आशङ्का उब्जिएको छ । उसो त कतिपय विश्लेषक रास्वपाभित्र ठूलै ‘वितण्डा’को जन्म भइरहेको बताउँछन् ।

विश्लेषक गेजा शर्मा वाग्ले लोकतान्त्रिक पद्धतिमा ‘चमत्कार’ वा ‘हिरोइज्म’ मा विश्वास गर्नै नहुने बताउँछन् । रास्वपाको दलीय प्रवृत्ति त्यही–त्यही किसिमको हुने उल्लेख गर्दै उनी भन्छन्, ‘लोकतन्त्रमा जवाफदेहिता र जिम्मेवारीमा विश्वास गर्नुपर्छ । यदि त्यसो भएन भने त्यहाँभित्र वितण्ड जन्मिन्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०९:४२

लोकप्रिय