सूचनाको शक्ति - The Power Of Information

        

देशभरका २२ स्थानमा रिक्त भए जनप्रतिनिधि, कहिले होला उपनिर्वाचन ?

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङ ०७९ साल मंसिरमा भएको निर्वाचनमा इलामको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

उनको निधनसँगै ईलाम क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा नेतृत्वविहिन बनेको छ । उक्त निर्वाचन क्षेत्रमा अब पुनः निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभाको कार्यकाल ४ वर्षभन्दा धेरै बाँकी रहेकोले उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने भएको हो ।

गत ५ असारमा गाडी दुर्घटनामा परी सदूरपश्चिम प्रदेशका सांसद पृथ्वीबहादुर सिंहको निधन भयो । बझाङ १ बाट प्रदेशसभामा निर्वाचित भएका सिंह सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत थिए । उनी पनि गत ४ मंसिरमा भएको चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनको निधनसँगै बझाङ १ को ‘क’ जनप्रतिनिधिविहीन छ ।

रिक्त स्थानमा कानुनअनुसार उपनिर्वाचन गराउनुपर्ने प्रावधान छ । संविधानको धारा १७६ को ८ मा प्रदेशसभा सदस्यको रिक्त भएका निर्वाचन गर्नुपर्ने व्यवस्था छ । ‘प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ ।

सोही कानूनी प्रावधान अनुसार उक्त निर्वाचन क्षेत्रमा पनि पुनःनिर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको १६ नम्वर वडामा पनि पुनःनिर्वाचन गर्नुपर्ने भएको छ । उक्त वडाका वडाध्यक्ष मुकुन्द रिजालको गत मंगलबार निधन भएकोले पुनःनिर्वाचन गर्नुपर्ने भएको हो । उनी २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

रिजालको निधनसँगै वडा नम्बर १६ जनप्रतिनिधिविहीन भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को २ मा उपनिर्वाचनको व्यवस्थाअनुसार सो वडामा फेरि निर्वाचन हुनेछ । निर्वाचन आयोगले देशभर संघीयसहित २२ जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ । संघ, प्रदेश र स्थानीय तह गरी विभिन्न १९ जिल्लामा २२ जनप्रतिनिधिको पद रिक्त रहेको आयोगले जनाएको हो ।

आयोगका सह प्रवक्ता सुर्य प्रसाद अर्यालले गत वर्ष ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य,प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्षको पद रिक्त भएको जानकारी दिए ।

रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ५, माओवादी ४ र स्वतन्त्र एक छन् । सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिममा रिक्त रहेको आयोगले बताएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रिक्त पदमा गत वैशाखमै उपनिर्वाचन गरे पनि सरकारले प्रदेश र स्थानीय तहमा रिक्त पदको उपनिर्वाचन हालसम्म गर्ने मिति घोषणा छैन ।

आयोगले प्रतिनिधिसभा सदस्यको तीन ठाउँमा पद रिक्त हुँदा गत १० वैशाखमा उपनिर्वाचन गराइसकेको छ । आयोगले चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त भएपछि गत १० वैशाखमा उपनिर्वाचन गराएको थियो । गत वर्ष मंसिरमा सम्पन्न संघीय निर्वाचनबाट चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनिएका थिए ।

यीमध्ये नागरिकता विवादले सांसद पद गुमेपछि रविको निर्वाचन क्षेत्र रिक्त भएको थियो । यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपति रामप्रसाद सहाय यादव निर्वाचित भएपछि बारा २ र तनहुँ १ को संघीय निर्वाचनको पद रिक्त थियो । आयोगले तीनै वटै स्थानमा उपनिर्वाचन गराएपछि चितवन २ मा लामिछाने पुनः निर्वाचित भएका छन् ।

त्यस्तै तनहुँ १ बाट रास्वपाका स्वर्णिम वाग्ले र बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन् । १० वैशाखमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा मात्रै निर्वाचन भए पनि प्रदेश र स्थानीय तहमा रिक्त पदको निर्वाचन भएको छैन भने नेम्वाङको मृत्युसँगै फेरी संघीय संसदको पनि निर्वाचन गराउनुपर्ने भएको छ ।

कहाँ-कहाँ रिक्त छ ?

इलाम–२, प्रतिनिधिसभा सदस्य
बझाङ १ को १ – प्रदेशसभा सदस्य
जिसस प्रमुख कैलाली
महाबु गाउँपालिका – अध्यक्ष
गौरिशंकर गाउँपालिका – उपाध्यक्ष
काठमाडौं महानगरपालिका १६ – वडाध्यक्ष
हेटौंडा उपमहानगरपालिका १२ – वडाध्यक्ष
गोरखा नगरपालिका ५– वडाध्यक्ष
मुसिकोट गाउँपालिका १ – वडाध्यक्ष
रुन्टिगढी गाउँपालिका ४ – वडाध्यक्ष
गढी गाउँपालिका ६ – वडाध्यक्ष
त्रियुगा नगरपालिका १२ – वडाध्यक्ष
इशनाथ नगरपालिका ७ – वडाध्यक्ष
राजपुर नगरपालिका ६ – वडाध्यक्ष
कीर्तिपुर नगरपालिका ४ – वडाध्यक्ष
ककनी गाउँपालिका २ – वडाध्यक्ष
ठाकुरबाबा नगरपालिका ४ – वडाध्यक्ष
तिलागुफा नगरपालिका ४ – वडाध्यक्ष
कुशे गाउँपालिका ७ – वडाध्यक्ष
दुहुँ गाउँपालिका ५ – वडाध्यक्ष
सुर्मा गाउँपालिका ४ – वडाध्यक्ष
पुर्वीचौकी गाउँपालिका ६ – वडाध्यक्ष

कहिले होला उपनिर्वाचन ?

रिक्त रहेको स्थानमा सरकारसँग परामर्श गरेर चुनाव गराउने आयोगका सहप्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार आयोगले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल एवं उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासँग रिक्त स्थानको निर्वाचनका लागि प्रक्रियामा जान आयोगले आग्रह गरेको थियो । सरकारले घोषणा गरेको मितिमा आयोग चुनाव गराउन तयार रहेको उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १७:४३

लोकप्रिय