सूचनाको शक्ति - The Power Of Information

        

विदेशीसँग धमाधम वैवाहिक बन्धनमा बाँध्दै नेपाली नायिका

झरना बज्राचार्य, विपना थापा, हर्षिका श्रेष्ठको पथ पच्छयाउँदै अर्की नायिकाले भारतीय युवकलाई दुलाहा रोजेकी छन् । विदेशी नागरिकलाई दुलहा बनाउनेको भीडमा थपिएकी छन् निरुता सिंह, उनले भदौ १४ मा मुम्बई निवासी सञ्जिव गुलाटीलाई जीवनसाथीका रूपमा रोजेकी हुन् ।

२०५० को दशकदेखि ‘दक्षिणा’बाट नेपाली सिने क्षेत्रमा पाइला राखेकी निरुताले मनमन्दिर, दर्पण छायाँ, बन्धकी, दुई किनारा, दुःख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरीथरीका, लहनालगायत चलचित्रमा अभिनय गरेर नेपाली दर्शकको मन जितिन् । नेपाली सिने नगरीबाट पलायन भएर भारत पुगेकी उनले इन्टेरियर डिजाइनरको काम गर्दै आएकी छिन् ।

लामो समयदेखि भारतमा बस्दै आएकी निरुताले मुम्बईका सञ्जिबलाई जीवनसाथी रोजेकी हुन् । उसो त यसअघि नै विपना थापा, हर्षिका श्रेष्ठहरूले भारतीय व्यापारीलाई जीवनसाथी रोजिसकेका थिए । विपनाले डा.आशुतोष भारद्वाजसँग ०६३ सालमै लगनगाँठो कसेर भारतलाई कर्मघर र नेपाललाई माइतीघर बनाएकी थिइन् ।

यस्तै, भारतीय व्यापारी प्रशुन झुनझुनवालासँग हर्षिका श्रेष्ठले विवाह गरेकी छन् । यस्तै पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यले भारतीय मूलका मलेसियन नागरिक राहुल अग्रवालसँग विवाह गरेकी छन् । उसो त नेपाली सिने नगरीमा सबैभन्दा पहिला विदेशी नागरिकसँग लगनगाँठो कस्ने नायिका मानिन्छ चैत्यदेवीलाई ।

चलचित्र कुमारीकी अभिनेत्री चैत्यदेवीले जापानी युवकसँग विवाह गरेकी थिइन् । उसो त अधिकांश नायिकाले धनाढ्य व्यापारी वा विदेशी व्यापारी र एनआरएनवालालाई रोज्दै आएका छन् । झोला चलचित्रमा काम गरेर दर्शकको मन जितेकी गरिमा पन्तले बेल्जियमका एनआरएनवाला डिभोर्सी हरि शर्मा थपलियालाई जीवनसाथी रोजेपछि उतै गुमनाम छिन् ।

यस्तै अभिनेत्री तथा मोडल सिम्पल खनालले पनि दोस्रो विवाह विदेशीसँगै गरिन् । नेपाली नागरिक अर्थात् म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको घरजममा जम्न नसकेपछि बेलायत बसोबास गर्ने पाकिस्तानी मूलका व्यवसायी नदिमसँग विवाह गरेर उनी पनि बेलायततिरै बसाइँ सरिन् ।

यस्तै नायिका रेजिना उप्रेती बेलायतमा लामो समयदेखि बस्दै आएका नेपाली युवक सुरजसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विदेशी विवाह गर्नेमा अभिनेता र निर्देशक आकाश अधिकारी पनि थपिएका छन्, उनले इटलियन नागरिकलाई नेपाली बुहारी बनाएर भित्र्याएका छन् । यस्तै युना उप्रेती अमेरिकाकै एनआरएनवाला विकास अधिकारीसँग घरजम गरेर उतै पलायन भइन् ।

कतिपय नायिकाहरूको हकमा जीवनसाथी फेर्नु र लुगा फेर्नु उस्तैजस्तो देखिएको छ । कुनै बेला आदर्श जोडी भएका र दशकौँ एक रथका दुई पांग्रा जसरी जीवनका सुखदुख सँगै बिताएकाहरू धमाधम छुट्टिने पनि उत्तिकै छन् । नायिका उषा पौडेल नायक सुधांशु जोशीसँग विवाह बन्धनमा बाँधिइन् । अमेरिकामा बस्दै आएका सुधांशुले उषासँग दोस्रो बिहे गरेका हुन् ।

तर, सम्बन्ध अगाडि बढ्न सकेन । उही स्थिति रह्यो, अरुणिमा लम्सालको । कुनै समय धड्कन, अग्नि ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत ५० बढी फिल्ममा अभिनय गरिसकेकी उनी अमेरिका निवासी अमित अर्यालसँग विवाह बन्धनमा बाँधिइन् तर उक्त सम्बन्ध उषा पौडेलको झैँ दिगो हुन सकेन ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १६:२७