सूचनाको शक्ति - The Power Of Information

        

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

नेकपा (एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गरेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले सातै प्रदेशमा विचार गोष्ठी गर्ने निर्णय गरेको हो । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि र वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।

जसअनुसार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् भने अन्य छ प्रदेशमा हुने गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जाने बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानुहुने छ भने कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने एमालेले जनाएको छ ।

सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा.भीष्मनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १६:२४

लोकप्रिय