सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री भोलि न्युयोर्क जाँदै, त्यतैबाट चीन भ्रमण गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ । प्रधानमन्त्री प्रचण्ड त्यहीँबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता हुन लागेको हो ।

गत वर्ष परराष्ट्रसचिव भरतराज पौड्यालले सम्बोधन गरेका थिए भने त्योभन्दा अघिल्लो वर्ष तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले महासभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड महासभामा सहभागी हुने प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

यो कार्यक्रम २ असोजका लागि तय भएको छ । यद्यपि, स्वागत समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनसँग द्विपक्षीय साइडलाइन वार्ता गर्ने समय हुँदैन । बाइडेनले प्रतिनिधिमण्डललाई स्वागत गर्ने र तस्बिर खिचाउने कार्य मात्रै हुने गर्दछ ।

न्युयोर्कमा रहँदा प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

यो साइडलाइनमा हुने महत्वपूर्ण कार्यक्रम हो । प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

परराष्ट्रमन्त्री साउद नेतृत्वको एउटा प्रतिनिधिमण्डल भने यसअघि नै न्युयोर्क पुगिसकेको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

तर, परराष्ट्रले उनको चीन भ्रमणबारे अहिलेसम्म जानकारी दिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई एसियन गेममा सहभागी हुन चीन सरकारले निमन्त्रणा पठाएको थियो ।

यही निमन्त्रणामा सहभागी हुने क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङलगायतसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०७:१६

लोकप्रिय