सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय समिति बैठकका के–के छन् एजेण्डा ?

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा मंसिरमा हुने महासमिति बैठक केन्द्रित हुनेछ ।

कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । साउन १० मा केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने जनाएका थिए ।

बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज ४ का लागि केन्द्रीय कार्यसमिति बैठक सारिएको जानकारी दिए । कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ ।

आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।

कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४, २५ र २६ गते भव्यताका साथ बीपी साहित्य महोत्सव आयोजना गर्यो । २४ र २५ गतेको सेसन सम्पन्न भए पनि २६ गतेका लागि तय भएका सेसन रोकिएका छन् ।

संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि कांग्रेसले बीपी साहित्व महोत्सव असोज ३ गतेसम्मका लागि स्थगित गरेको छ । असोज ३ गते अन्तिम सेसनका कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

यसका साथै केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।

कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक  लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने ती पदाधिकारीले  बताए ।

ती पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिने छ । नेता शेखर कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

 ‘केही नेताहरुले सरकारको विकल्पको कुरा गरेपनि बैठक प्रचण्ड सरकारको निरन्तरताकै पक्षमा उभिन्छ ,’ उनले भने ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १८:३८

लोकप्रिय